काठमाडौं— नेपालका तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू बिहीबार दुर्लभ रूपमा एउटै मञ्चमा उपस्थित भएका छन् । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संक्रमणकालीन न्याय प्रक्रियासम्बन्धी राष्ट्रिय सम्मेलनमा सहभागी भएका हुन् ।
सामान्यतः एउटै मञ्चमा नदेखिने यी नेताहरू उक्त सम्मेलनमा एकसाथ उपस्थित भइ द्वन्द्वपीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकारबारे आफ्नो धारणा राखेका थिए । उनीहरूले संयुक्त रूपमा कार्यक्रमको उद्घाटनसमेत गरे ।
प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगका कामलाई प्रभावकारी बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । उनले पीडितहरूलाई न्याय दिलाउन सरकारको सक्रिय भूमिका रहने बताउँदै, विगतको हिंसा दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरे ।
उनले संसदबाट सहमतिमै संक्रमणकालीन न्यायसम्बन्धी कानुन पारित गरिएको स्मरण गराउँदै शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने दिशामा सरकार अग्रसर रहेको स्पष्ट पारे । राजनीतिक दलका शीर्ष नेताहरूको संयुक्त उपस्थिति र संक्रमणकालीन न्याय प्रक्रियाप्रतिको प्रतिबद्धताले द्वन्द्वपीडितहरूलाई आशा प्रदान गरेको छ । तर, पीडित समुदायले कानुनी प्रक्रिया कार्यान्वयनमा दृढ इच्छाशक्ति देखाउन नेताहरूलाई आग्रह गरेका छन् ।