काठमाडौं– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिने र दिने विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कास्कीको पोखरा–२७ का तत्कालीन वडा सचिव प्रभात लामिछाने र स्थानीय दिनेश लामिछानेविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको हो । जन्म दर्ता र कागजातमा जन्म मिति सच्याउने प्रयोजनका लागि घुस लिएको र दिएको उनीहरूमाथि आरोप छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसार वडासचिव लामिछानेले दिनेशबाट २ लाख ५० हजार घुस लिएको पुष्टि भएको छ । वडा सचिव लामिछानेले भनेजति रकम दिनेशले नै उनको बैंक खातामा जम्मा गरिदिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।
लामिछानेले पहिले नै दिनेश दयालु लामिछाने नामबाट जन्म दर्ता, जन्म मिति कायम गरी दर्ता भइसकेको अवस्थामा पुनः दिनेश लामिछानेको नाममा जन्म मिति र जन्म दर्ता गरी आफूले निर्वाह गर्नुपर्ने पदीय अधिकारको दुरुपयोग गरेको अख्तियारको ठहर छ । दुवैमाथि २ लाख ५० हजार बिगो बमोजिमको जरिवाना र सजायको माग गरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।