विराटनगर– राजावादीहरुले शुक्रबार काठमाडौंमा गरेको आन्दोलनका क्रममा एक पत्रकारसहित दुई जनाको ज्यान गएको छ । एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको छ भने कर्तिपुर नगरपालिका ४ का सविन महर्जनको प्रहरीको गोली लागी मृत्यु भएको छ ।
आन्दोलन हिंसात्मक बन्दै गएको भिडियो सुरक्षित स्थान सम्झेर घरभित्रबाट खिच्दै गरेको अवस्थामा आन्दोलनकारीले उक्त घरमा गरेको आगलागीमा जलेर पत्रकार रजकको मृत्यु भएको छ । राजावादीको आन्दोलनमा सहभागी भएको महर्जनको प्रहरीको गोली लागेर मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
दुर्गा प्रसाइँको नेतृत्वमा भएको राजावदीको आन्दोलन हिंसात्मक बन्दै तीनकुने क्षेत्रका सर्वसाधारणको घरमा तोड्फोड, आगजनी र लुटपाटमा परिणत भएको थियो । आन्दोलनको क्रममा दर्जनौं सुरक्षाकर्मी र आन्दोलनकारी घाइते छन् । घाइतेहरुको केएमसी अस्पतालले निःशुल्क उपचार गरिरहेको छ ।
पत्रकार रजकको मृत्युले पत्रकार महासंघको स्थापना दिवस विरोधसभामा परिणत
नेपाल पत्रकार महासंघले राजावदीको आन्दोलनका क्रममा एभिन्युजका पत्रकार रजकको मृत्यु भएको देशभरि महासंघको स्थापना दिवसको अवसरमा गर्न लागेको सम्पूर्ण कार्यक्रम स्थगित गरेर विरोधमा परिणत गर्ने निर्णय गरेको छ । महासंघले विज्ञप्ती जारी गरी विरोधसभामा सहभागी हुन पत्रकारहरुलाई आह्वान गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयः आन्दोलनको छानविन
मन्त्रिपरिषद्को शुक्रबार राती बसेको बैठकले गृहमन्त्रालयले राजावदीको आन्दोलनको छानविन गर्ने परम्परागत निर्णय गरेको छ । मन्त्रिपरिषद्कोको बसेको आक्स्मिक बैठकले शुक्रबारको आन्दोलन मानिसको ज्यान जाने गरी घरमा तोडफोड गर्दै हिंसात्मक भएको ठहर गर्दै गृहमन्त्रालयलाई छानबिन गरी सत्यतथ्य पत्ता लगाउन निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्वा गुरुङले जानकारी दिएको छ ।
राप्रपाका नेताहरु धमाधम पक्राउ पर्दै
राजावादीको आन्दोलनमा सक्रिय राप्रपाका नेता लगायतका व्यक्तिहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । राजावदीको आन्दोलनमा सक्रिय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन् ।
यस्तै, अधिवक्ता स्वागत नेपालसहित, सेफर्ड लिम्बु र सन्तोष तामाङसमेत पक्राउ परेका छन् । ‘राजसंस्था पुनः स्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीलाई प्रहरीले गौरीघाटस्थित घरमै नजरबन्दमा राखेको छ । उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग मिलेर काठमाडौँको तीनकुनेमा प्रदर्शनको नाममा हिंसात्मक गतिविधि गरेको प्रहरीको आरोप छ ।