काठमाडौं-  ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा ‘#ArrestGyanendra’ अभियान सुरु भएको छ। शनिबारदेखि सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा शाहको बारेमा पोस्ट राख्दै प्रयोगकर्ताहरूले उनलाई पक्राउ गर्न माग गरेका छन्।

तीनकुनेमा शुक्रबार भएको राजावादी प्रदर्शन हिंसात्मक बन्दा दुई जनाले ज्यान गुमाएका थिए। थुप्रै घाइते भएका थिए भने सर्वसाधारणका घर, व्यापारिक प्रतिष्ठानहरू, सञ्चारमाध्यम, राजनीतिक पार्टीका कार्यालय तथा सरकारी र निजी दर्जनौं सवारीसाधनमा तोडफोड र आगजनी भएको थियो।

प्रदर्शनको नाममा हिंसा मच्चाएपछि आन्दोलनका मुख्य डिजाइनर भनेर पूर्वराजा ज्ञानेन्द्रलाई पक्राउ गर्न सर्वसाधारणले #ArrestGyanendra अभियान मार्फत सरकारलाई दबाब दिएका छन्। उनीहरूले ज्ञानेन्द्रलाई यो अपराधबाट उन्मुक्ति नदिन सरकारसँग अपिल गरेका छन्।

प्रदर्शनलाई हिंसात्मक बनाउन भिडलाई उक्साएको र तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले अहिलेसम्म एक सयभन्दा बढीलाई नियन्त्रणमा लिइसकेको छ। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायत पक्राउ परिसकेका छन्। आन्दोलनको कमान्डर भनिएका दुर्गा प्रसाईंलाई प्रहरीले शुक्रबारदेखि नै खोजी गरिरहेको छ। प्रसाईं हिजोदेखि फरार छन्।