विराटनगर — पवित्र जानकी जन्मोत्सवको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सोमबारदेखि औपचारिक कार्यक्रमहरू सुरु भएका छन्।
जानकी मन्दिरले आयोजना गरेको कार्यक्रमअनुसार मंगलबारदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकारी दिए। साथै अखण्ड रामायण पाठ पनि नियमित रूपमा जारी रहनेछ।
जन्मोत्सवको मुख्य दिन वैशाख २३ गते मंगलबार बिहान ५ बजे जानकी मन्दिरबाट दूधमती नदीमा जानकीको शाही स्नान गरिनेछ। सोही दिन अपराह्न १२ बजे जन्म आरती तथा बधाई मङ्गलगान, दिउँसो ४ बजे डोला शोभा यात्रा र साँझ ७ बजे विशेष आरतीसहित दीपोत्सव आयोजना गरिने कार्यक्रम तय भएको छ। जानकी जन्मदेखि छठिहारसम्म हरेक साँझ ७ बजे जानकी मन्दिरको गर्भगृहमा जन्म बधाई गान गाइने मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
त्यस्तै वैशाख २४ मा जनकपुरधाम उपासनाका लागि मटकोर कार्यक्रम आयोजना गरिनेछ भने वैशाख २५ मा धार्मिक तथा सांस्कृतिक गीतसहित सीताराम विवाह महोत्सव मनाइनेछ। सोही दिन मानस मोहिनी सध्या देवीबाट विशेष रामकथा वाचन कार्यक्रमसमेत गरिने उत्तराधिकारी दासले बताए।उनका अनुसार यस वर्ष जानकी जन्मोत्सव विशेष धूमधामका साथ मनाउन व्यापक तयारी गरिएको छ।