काठमाडौं– सामाजिक सञ्जालमा अरूको औकात मापन गर्दै टिप्पणी गर्न खप्पिस नेकपा (एमाले) का शक्तिशाली उपमहासचिव विष्णु रिमाललाई शनिबार काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) साहको प्रश्नले उनको राजनीतिक करिअर नै धरापमा पारेको छ।
रिमालले बालेनको पृष्ठभूमि खोतल्दै स्वभावतः ठूला कुरा गरेपछि बालेनले उनलाई जरिवानाको रकम किन नतिरेको भन्दै प्रश्न गरेका हुन् । शनिबार रिमालले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसमा कमेन्ट गर्दै बालेनले आफू सामान्य मान्छे नै भएको जिकिर गर्दै लेखेका छन्, ‘अरू सबै ठीक छ, म चाहिँ सामान्य मान्छे नै हो, मेरो बाउबाजे राजा हो । परिवारको बारेमा बढी नबोल्नु होला, अनि तपाईंहरूले चाहिँ किन नतिरेको पैसा ?’
पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिराउन पत्र काट्ने काम गणतन्त्रमा मात्र सम्भव रहेको बताउँदै शनिबार सामाजिक सञ्जालमा रिमालले ‘गणतन्त्रमा मात्र यस्तो सम्भव छ † महोत्तरीको एउटा सामान्य गाउँले परिवारका बालेन्द्र साहले काठमाडौँका सम्भ्रान्त परिवारका सयौं वर्ष अधिनायक शासन सञ्चालन गर्ने शासक ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र काटेका छन् । यो शक्ति दिन सक्ने व्यवस्थाको नाम गणतन्त्र हो’ भन्दै लेखेका थिए।
यही स्टाटसमा मेयर बालेनले प्रश्न गर्दै कमेन्ट गरेका हुन्। सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक स्थलमा हावादारी कुरा गर्नुको पछाडि बालुवाटारमा बस्ने रिमालजस्ता सल्लाहकारकै हात रहेको भन्दै व्यङ्ग्य गरेका छन्।
‘यी एमाले नेताहरू औकात बिर्सेर किन कुरा गर्छन् ? कहिल्यै पनि सुध्रिएलान् जस्तो लाग्दैन । २०८४ को चुनावमा एमालेका एउटै नेताले जित्लान् जस्तो छाटकाट देखिएन…’ आदि इत्यादि प्रतिक्रियाले सामाजिक सञ्जाल भरिभराउ छ ।
एमालेकै एक नेताका अनुसार पार्टीभित्र र बाहिर अलोकप्रिय रिमाललाई शनिबारको फेसबुक स्टाटसले सार्वजनिक रूपमा ठूलो क्षति पुर्याएको छ । ‘एमाले र कांग्रेसका हस्ती नेता–नेतृलाई पछारेर मेयरमा विजयी भएका बालेन सबै समुदायबीच लोकप्रिय छन् । अहिलेको अवस्थामा देशकै सबैभन्दा लोकप्रिय मेयर पनि हुन् । रिमालले बोल्दा–लेख्दा आफ्नो हैसियतको ख्याल राख्नुपथ्र्यो,’ ती नेताले भने, ‘रिमाल जाति र समुदायतिर गएर कमेन्ट गरेछन् । मेयर बालेनका लागि यो क्रिकेटको फुल टस बलजस्तै भएछ । के बाँकी राख्थे, छक्का हानेर रिमाललाई भुइँमै पछारेछन् ।’
गत मंसिर ७ मा काठमाडौंको दरबारमार्गमा जनप्रदर्शन आयोजना गरेर जथाभावी फोहोर गरेको भन्दै महानगरले एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको थियो । जुन जरिवाना हालसम्म पनि एमालेले नतिरेको महानगरले बताउँदै आएको छ । अरु दल र संघसंस्थाले जरिवाना तिरे पनि एमाले नेताहरुले यस्ता ऐन, नियम नमान्ने भन्दै आएका छन् ।