विराटनगर– सुनसरीको हरिनगर गाउँपालिका–५ स्थित १२ घर अग्नि पीडित परिवारलाई नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा राहत वितरण गरिएको छ । चैत्र १८ मा भएको आगलागीबाट घर तथा गोठहरु जलेर नष्ट भएको थियो ।

चैत्र १९ मा प्रत्येक पीडित घर परिवारका सदस्यहरुलाई ओढ्ने, ओछयाने कपडा, त्रिपाल, चामल, दाल लगायतका सामग्री वितरण गरिएको हो । राहत वितरणको क्रममा कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले विपदको समयमा पिडित परिवारलाई आइपरेका समस्यामा साथ दिन आएको बताए । 

आगलागी स्थलको डीआईजी अधिकारी, संघकी अध्यक्ष सुस्मिता केसी, सुनसरी प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिना तथा हरिनगर गाउँपालिका अध्यक्ष गफार अंसारीले अवलोकन समेत गरेका थिए । यो राहतले ठूलो सहयोग पुगेको गाउँपालिकाका अध्यक्ष अंसारीले बताए । राहत वितरण कार्यक्रममा नेपाल प्रहरी श्रीमतीसंघ कोशी प्रदेशका पदाधिकारी तथा स्थानीय लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति थियो ।