विराटनगर– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको ‘जस्तालाई त्यस्तै भन्सार दर’ (रेसिप्रोकल ट्यारिफ) नीति नेपालका लागि अवसर हुन सक्ने देखिएको छ ।
ट्रम्प प्रशासनले बिहीबार गरेको घोषणाअनुसार नेपालबाट अमेरिका निर्यात हुने वस्तुमा १० प्रतिशत भन्सार लाग्नेछ । यसले नेपाली वस्तु अमेरिकामा महँगो पर्ने भए पनि नेपालका प्रतिस्पर्धी मुलुकहरू भारत, बंगलादेश, चीन, कम्बोडिया, पाकिस्तान, र भियतनामका निर्यातमा अझ बढी भन्सार लगाइएकाले नेपालले तुलनात्मक लाभ लिन सक्ने देखिन्छ ।
नेपालबाट अमेरिका निर्यात हुने मुख्य वस्तुमा कार्पेट, गार्मेन्ट, छुर्पी, र फेल्टका सामान छन् । नेपालले अमेरिकी वस्तुमा औसत १० प्रतिशत भन्सार लिइरहेको भन्दै अमेरिकाले पनि नेपाललाई त्यही अनुपातमा भन्सार लगाउने निर्णय गरेको हो । तर भारतलाई २६ प्रतिशत, बंगलादेशलाई ३७ प्रतिशत, चीनलाई ३४ प्रतिशत र भियतनामलाई ४६ प्रतिशत जस्ता उच्च भन्सार दर लागू गरिने भएपछि नेपाली वस्तु तुलनात्मक रूपमा सस्तो पर्नेछ ।
नेपालका लागि अर्को सकारात्मक पक्ष ‘नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम’ (एनटीपीपी) हो । सन् २०१५ मा भूकम्पपछि अमेरिकाले नेपालका ७७ प्रकारका वस्तु भन्सारमुक्त प्रवेश दिने निर्णय गरेको थियो । हाल एनटीपीपी कार्यक्रम अन्तर्गत कुल नेपाली निर्यातको ८ प्रतिशत मात्रै अमेरिका पुगिरहेको छ ।
नेपालबाट अमेरिका जाने हिमाली गाई तथा भैंसीको दूधबाट बनेको छुर्पी (डग एन्ड क्याट फिड) मा १० प्रतिशत भन्सार थपिए पनि भारतबाट निर्यात गर्दा २६ प्रतिशत भन्सार लाग्ने हुँदा नेपाललाई फाइदा हुनेछ । एनटीपीपी अन्तर्गत जाने कार्पेट र सलहरूमा १० प्रतिशत भन्सार थपिए पनि भारतलाई २६ प्रतिशत र चीनलाई ५४ प्रतिशत लाग्ने भएकाले नेपाल प्रतिस्पर्धात्मक रूपमा अगाडि रहनेछ ।
रेडिमेड गार्मेन्टमा अहिले १३ प्रतिशत भन्सार रहेकोमा अब १० प्रतिशत थपिनेछ । तर भारतको भन्सार दर ३९ प्रतिशत, बंगलादेशको ५० प्रतिशत पुग्ने भएकाले नेपाली गार्मेन्ट तुलनात्मक रूपमा सस्तो हुनेछ । यदि अमेरिकाले ट्रम्पको नीति कम्तीमा पाँच वर्ष कायम राख्यो भने भारत, बंगलादेश, भियतनामका ठूला ब्रान्डहरू (जस्तै एडिडास, एचएन्डएम) नेपालमा उत्पादन युनिट खोल्न सक्ने सम्भावना छ ।
तर नेपालमा उच्च उत्पादन लागत, कमजोर पूर्वाधार, ढुवानीमा लाग्ने अतिरिक्त खर्च र प्रशासनिक झन्झटजस्ता समस्याहरू समाधान गर्न आवश्यक छ । नेपालले साँच्चै यस नीतिको फाइदा उठाउन चाहेमा मानव स्रोत सुधार, लगानीमैत्री नीतिहरू ल्याउने, र अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ बलियो पार्नुपर्ने आवश्यकता देखिन्छ ।
ट्रम्पको नयाँ भन्सार नीतिले नेपालका निर्यातकर्तालाई अल्पकालीन रूपमा फाइदा पु¥याउने देखिए पनि दीर्घकालीन रूपमा उत्पादन क्षमता, व्यापार नीति, र विदेशी लगानी आकर्षित गर्ने रणनीति सुधार्न आवश्यक छ । नेपालले यो अवसर सदुपयोग गर्दै अन्तर्राष्ट्रिय व्यापारमा आफ्नो स्थान सुदृढ बनाउनुपर्ने देखिन्छ ।