विराटनगर– दुई नागरिकले ज्यान गुमाएको काठमाडौँको तीनकुने घटनाको तटस्थ छानबिनको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शुक्रबार सडकमा उत्रिएको छ । 

तोडफोड, आगजनी, लुटपाट र मानवीय हताहती भएको उक्त प्रकरणमा राज्य पक्षलाई जिम्मेवार ठहर्याउँदै आएको राप्रपाले काठमाडौँमा दबाबमूलक प्रदर्शन गरेको हो । सुन्धाराबाट निस्किएको जुलुसमा पार्टीका शीर्ष नेता सामेल छन् ।

राप्रपाले तीनकुने घटनाको न्यायिक छानबिन हुनुपर्ने, तोडफोड गर्न उक्साएको आरोपमा समातिएका नेता रविन्द्र मिश्र र डा.धवल शमसेर राणालगायत सबैलाई तत्काल छोडनुपर्ने, मृतकहरुलाई शहीद घोषणा गर्नुपर्ने लगायतका माग राखेको छ । 

’मृतकलाई शहीद घोषणा गर’ प्लेकार्ड बोकेका उनीहरुले ’नागरिक स्वतन्त्रता कायम गर’ लेखिएको कालो ब्यानर प्रदर्शन गरेका छन् । ’श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाहदेव जय नेपाल’, ’सविन महर्जन र सुरेश रजकलाई शहीद घोषणा गर’, ’गल्ती लुकाउने गृहमन्त्री राजीनामा दे’ लेखिएका प्लेकार्ड र ब्यानर पनि देखाइएको छ ।

सुन्धाराबाट थालिएको र्याली न्युरोड, रत्नपार्कस्थित शान्तिवाटिका पुगि कोण सभामा परिणत भएको छ । ¥यालीमा राप्रपाका पूर्वअध्यक्ष तथा सांसद पशुपति शमशेर जबरा, प्रवक्ता मोहनकुमार श्रेष्ठ, वाग्मती प्रदेश इञ्चार्ज विक्रम थापा, नेता ध्रुवबहादुर प्रधान, काठमाडौँ अध्यक्ष नवराज सिम्खडा, पूर्वमन्त्री जगत गौचन, शाही युवाशक्तिका सदस्य अमित थापालगायतको सहभागिता छ ।