काठमाडौं– नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका कुलमान घिसिङले कानुन विपरितको निर्देशन मान्न अस्वीकार गर्दा सरकारले मन नपराएको बताएका छन् । कुलमानले शुक्रबार पत्रकार सम्मेलन गर्दै भने,‘मैले कानुनभन्दा बाहिर गएर कुनैपनि निर्देशन मान्न सकिन । डेडिकेटेड र ट्रंकलाइनको कुरामा विवाद सुरु भयो । त्यसैले बर्खास्ती पाएँ ।’
सरकारले लगाएको ‘जवाफदेही हुन नसककेको’ र ‘बक्यौता उठाउन नसकेको’ आरोपको पनि कुलमानले खण्डन गरेका छन् । महशुल उठाउन सहमती माग्दा नै आफूलाई हटाइएको उनको दाबी छ । निरन्तर दबाब र आदेश आएका कारण आफूले महसुल उठाउन नसकेको उनको भनाइ छ ।
कुलमानलाई माओवादी केन्द्रको समर्थन रहेको र उनी माओवादी भएको भन्ने आरोपबारे उनले भने,‘म कुनै व्यक्ति र पार्टीको होइन् । म कर्मचारी हुँ । जनताको हुँ ।’ राजनीतिमा आउने संभावनाबारे सोध्दा उनले त्यस्तो अवस्था आएमा आफू देशको लागि जुनसुकै जिम्मेवार पदमा आउन तयार रहेको बताएका छन् ।
कुलमानले देश र जनताको सेवामा रातदिन निष्ठाका साथ खटिँदा पनि सरकारले आफूलाई पदबाट बर्खास्त गरेको गुनासो पनि पोखेका छन् । राष्ट्र निर्माणमा जहाँ आवश्यकता पर्छ त्यहाँ आफू सदैव उभिने बताउँदै भने, ‘मेरो इज्जतमाथि नै आघात पुग्ने गरी प्रहार भए ।’
उनले आफूले उद्योगहरूको ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता उठाउन पत्र काट्नु नै आफूलाई हटाइनुको प्रमुख कारण बनेको दोहोर्याएकाछन् । उनले भने, ’बक्यौता उठाउने मेरो प्रयास नै मलाई हटाइनुको प्रमुख कारण बनेको छ, बक्यौता उठाउनु अपराध हो?’
कुलमानले कसैको स्वार्थमा आफू माथि राज्यको सम्पूर्ण शक्ति खनिएको यो घटनाको नेपाली जनता साक्षी भएको बताए । सञ्चारकर्मीसँग प्रश्नोत्तर गर्नुअघि घिसिङले एक लामो विज्ञप्ति पढेर सुनाएका थिए ।
उक्त विज्ञप्तिमा पनि उनले घुमाउरो भाषा प्रयोग गर्दै भनेका छन् ‘मेरो प्रतिबद्धता सधैं जनताको सेवा प्रति समर्पित रहनेछ । राष्ट्र निर्माणमा जहाँ मेरो आवश्यकता पर्छ, त्यहाँ योगदान दिन म सदैव तयार छु ।’ आगामी दिनमा पनि उनले यस्ता प्रहार आफूमाथि भइरहनसक्ने बताउँदै त्यसबारे सतर्क र सजग रहेको पनि बताएका छन् ।