विराटनगर– दुवैईको क्वालिटि ब्राण्डको आईस्क्रिमको स्वाद अब कोशी प्रदेशमा लिन पाइने भएको छ । तसनीम कर्प प्रालिले ५० वर्षको गौरवमय इतिहास बोकेको क्वालिटि ब्राण्डको आईस्क्रिम कोशी प्रदेशमा भित्र्याएको हो । तसनीमले विराटनगरको सेन्ट्रल मल र पिजफायर रेस्टुरेन्टमा शुक्रबारबाट क्वालिटि आइस्क्रिमको पार्लर सञ्चालनमा ल्याएको छ । 

तसनीमका प्रोप्राइटर आमिर अख्तरले अब चाँडै इटहरीको मुख्यचोक र संगीतचोकमा पनि क्वालिटि आइस्क्रिमको पार्लर सञ्चालनमा ल्याउने र त्यसपछि प्रदेशका अन्य सहरहरुमा पनि पाल्ृर थप्दै जाने लक्ष्य रहेको बताए । 

क्वालिटि आइस्क्रिमको क्षेत्रीय म्यानेजर साकिर अजिमीले गाईको दुधबाट बनेको विभिन्न ९ स्वादमा क्वालिटि आइस्क्रिमको स्वाद लिन पाइने बताए । उनले एउटा पार्लर सञ्चालनमा ल्याउन करिब १० लाखको लागत लाग्ने गरेको र प्रत्येक पार्लरमा प्रत्यक्ष रुपमा दुई जनाले रोजगारी पाउने अवस्था रहेको बताए । 

आइस्क्रिमका पारखीहरुले यहाँ पाउने आइस्क्रिम भन्दा क्वालिटि आइस्क्रिमको स्वाद फरक र गुणस्तरीय रहेको बताए । उनीहरुले फ्रुट सलाद आइस्क्रिमको स्वाद सबभन्दा उत्तम र गुणस्तरीय रहेको बताए ।  

ज्योती ग्रुपको सन इन्टरनेशनल इन्कर्पोरेटेडले एक वर्ष अगाडि क्वालिटि ब्राण्डको आइस्क्रिम काठमाडौंमा भित्र्याएको थियो । यो आइस्क्रिम दुवैईमा नै उत्पादन भएको प्याक नेपालमा ल्याएर बिक्री वितरण गर्दै आएको छ ।