विराटनगर– नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङका पक्षमा आइतबार काठमाडौंमा ठूलो प्रदर्शनका साथ सांस्कृतिक र्याली निकालिएको छ ।
‘कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिका’ नाममा आयोजित उक्त प्रदर्शनमा विभिन्न संघ–संस्थाहरूका प्रतिनिधि र सर्वसाधारण सामेल थिए । र्यालीमा बौद्ध भिक्षुहरूको पनि बाक्लो सहभागिता थियो । कुलमानलाई अपमानजनक ढंगले हटाएको भन्दै विरोधका उनीहरुले नारा लगाए ।
सरकारले चैत ११ मा कुलमानलाई हटाउँदै प्राधिकरणको नयाँ कार्यकारी निर्देशकको रूपमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । कुलमानलाई पहिलोपटक २०७३ भदौ २९ मा पुष्पकमल दाहालको नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
उनले कार्यभार सम्हाल्दै लोडसेडिङ अन्त्य गरे । प्राधिकरणलाई नाफामा पुर्याएका थिए । २०७८ को साउन २६ मा शेरबहादुर देउवा नेतृत्वको सरकारको दोस्रो कार्यकालमा पनि उनलाई कार्यकारी निर्देशक नियुक्त गरिएको थियो । अहिले सरकारको निर्णयमा विरोध जनाउँदै प्रदर्शनमा सहभागीहरुले कुलमानको पुनर्बहालीको माग गरेका छन् ।