चितवन– पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डअन्तर्गत दाउन्नेमा सडक मर्मत तथा विस्तारका लागि बुधबारदेखि अत्यावश्यक बाहेकका सवारी साधनको आवागमन बन्द गरिने भएको छ । पूर्वीनवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार चैत २७ देखि ३१ सम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म चार घण्टा सडक बन्द हुनेछ ।

त्यस्तै वैशाख १ देखि १५ सम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म ६ घण्टा सडक बन्द गरिने छ । सडक बन्दको अवधिमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी साधन लगायत अत्यावश्यक सेवामा प्रयोग हुने गाडीलाई भने आवागमनको अनुमति दिइनेछ ।

सडक बन्दको निर्णय दाउन्ने खण्डको जोखिमपूर्ण अवस्थालाई मध्यनजर गर्दै गरिएको हो । ‘बर्खायाम सुरु हुनु अघि नै राजमार्गलाई सहज बनाउने उद्देश्यले यो निर्णय गरिएको हो,’ प्रजिअ पाण्डेले भने । साँघुरो सडक र पहाड काट्ने, पर्खाल लगाउने तथा कल्भर्ट निर्माण जस्ता कामका कारण दाउन्ने खण्डमा यात्रुहरू दैनिकजसो समस्यामा परिरहेका छन् । हाल १३ किलोमिटर दूरी पार गर्न ५ देखि ६ घण्टा लाग्ने अवस्था छ ।

‘ठेकेदार र आयोजना प्रतिनिधिहरूसँगको छलफलपछि सवारी चलिरहेका बेला काममा डिस्टर्ब हुने भएकाले केही समयका लागि आवागमन नै बन्द गरिदिए काम छिटो सकिन्छ भन्ने निष्कर्षमा पुगेका थियौं,’पाण्डेले भने । त्यसैले पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारीहरूसहितको बैठकले सडक बन्द गर्ने निर्णय लिएको हो ।

प्रजिअ पाण्डेका अनुसार ठेकेदार कम्पनीले राति काम गर्न आवश्यक उज्यालो व्यवस्थाको प्रतिवद्धता जनाइसकेको छ । यात्रुहरूलाई बन्द अवधिमा यात्रा नगर्न वा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।