विराटनगर– कोशी प्रदेश सरकारकाे ´कोशी प्रदेश पयर्टन वर्ष २०८२’को तेह्रथुमकाे बसन्तपुरस्थित आरआरगार्डेनमा बुधबार शुभारम्भ भएकाे छ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पानसमा दियाे बालेर पर्यटन वर्षकाे शुभारम्भ गरेका हुन् ।

‘कोशीको गौरब, हिमालको शान, पर्यटन वर्षमा सबैको सम्मान’ नारासहित शुभारम्भ भएकाे पर्यटन वर्षकाे नमस्कार गरेको रेडपाण्डालाई मस्कट र नेपालको झण्डामा भएको निलो, सेता, रातोको घेराभित्र माथिल्लो भागमा हिमाल, त्यसको तल पहाडी क्षेत्र र त्यसको तल अर्नासँगै नदी बगेको तराई–मधेस क्षेत्र भएको लोगो सार्वजनिक गरिएको छ ।

पर्यटन वर्षमा पर्यटक भित्र्याउने आधार वर्षकाे रूपमा काम गर्दै पर्यटकीय गन्तव्य, सडक, प्रहरीकाे व्यवहारमा परिवर्तन, हाेटललगायतकाे क्षेत्रमा सुधार गर्दै धेरै भन्दा धेरै पर्यटक भित्र्याएर राष्ट्रिय पूँजीकाे निर्माण गर्ने प्रदेश सरकारकाे लक्ष्य छ ।

यश प्रदेशमा विश्वका अग्ला हिमाल, लालिगुराँस, रमणीय प्राकृतिक साैन्दर्यले भरिपूर्ण पर्यटकीय स्थल, हिन्दू, बाैद्ध र किरात धर्मावलम्बीहरूकाे आस्थाका केन्द्र हलेसी महादेव, पाथिभारा, धर्तिकाे पहिलाे भगवान बराह क्षेत्र, तराई, पहाड र हिमाल समेटिएकाे धार्मिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण छ । ४ वटा पाँच तारे होटल सञ्चालनमा रहेको र थप ४ वटा सञ्चालनमा आउने तयारीमा रहेको र १ सय ४ वटा होमस्टे दर्ता भई सञ्चालनमा रहेको छ ।

शुभारम्भ समाराेहमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही भारतका लाेकसभा सदस्य रामपृत मण्डललगायत प्रदेशका मन्त्रीलगायतका कर्मचारी, पर्यटन व्यवसायी, स्थानीयवासी, नेपाल र भारतका पत्रकारहरूकाे उपस्थिति रहेकाे छ ।