विराटनगर– जग्गा बैनाको निहुँमा राजधानी काठमाडौँमा ६० लाख रुपैयाँ लुटिएको घटनामा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–३२ स्थित मनहरा प्लानिङ क्षेत्रमा गत चैत २७ मा भएको घटनामा बौद्धका रितेश लामाले नवराज खनाललाई जग्गा बैनाको बहानामा बोलाइ नगद ६० लाख रुपैयाँ लुटेर कारमार्फत फरार भएको बताइएको छ ।
महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी अपीलराज बोहराका अनुसार घटनामा संलग्न देखिएका १८ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरूबारे थप बुझुन काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गराइएको उनले बताए ।
प्रहरीका अनुसार लुटिएको रकममध्ये हालसम्म ३० लाख एक हजार रुपैयाँ मात्रै बरामद भएको छ । बाँकी रकम कहाँ र कसरी गायब भयो भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा पीडित खनालले उक्त रकम जग्गा कारोबारको प्रयोजनका लागि लगेपनि घटनाको प्रकृति शंकास्पद रहेको र थप पृष्ठभूमिबारे खोजबीन भइरहेको एक अनुसन्धान अधिकृतले जानकारी दिएका छन् ।