नयाँ वर्षको अवसरमा नेताहरूले दिएको सन्देशले राष्ट्रिय एकता, समृद्धि र सुशासनप्रतिको प्रतिबद्धता दोहार्याएको छ ।   तर जनताले यी अभिव्यक्तिहरूलाई कार्यान्वयनको कसीमा नाप्नेछन् । संकल्प र शुभकामनाबाट अघि बढ्दै साच्चिकै नतिजा देखिने नयाँ वर्ष बनाउने जिम्मेवारी सत्ताधारी र प्रतिपक्ष दुवैको काँधमा छ ।

काठमाडौँ– नयाँ वर्ष २०८२ को अवसरमा मुलुकका शीर्ष नेताहरूले शुभकामना सन्देशमार्फत जनतामा नयाँ आशा, ऊर्जा र संकल्पको भावना भरिदिने प्रयास गरेका छन् । राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख दलका नेताहरूले राजनीतिक स्थायित्व, आर्थिक समृद्धि, लोकतान्त्रिक संस्थाको मजबुती र सामाजिक एकताको पक्षमा जनतासँग साझा संकल्पमा उभिन आग्रह गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्षलाई देशको साझा राष्ट्रिय लक्ष्य निर्धारण गर्ने अवसरको रूपमा लिन आह्वान गरे । शुभकामना सन्देशमा उनले विक्रम संवत् नेपालको सभ्यता र परम्पराको प्रतिनिधि भएको उल्लेख गर्दै नयाँ वर्षलाई ‘उन्नत भविष्यतर्फ अगाडि बढ्न प्रेरणा दिने दिन’ भएको बताए।

‘नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न संकल्प गर्ने दिन हो,’ राष्ट्रपति पौडेलले भने, ‘कसै–कसैले भ्रमपूर्ण स्थिति सिर्जना गर्ने प्रयास गरे पनि ती विस्तारै निस्तेज हुँदै जानेछन् ।’ उनले समावेशी लोकतन्त्रको माध्यमबाट स्वतन्त्रताको उज्यालो र फराकिलो लोकमार्गमा मुलुक अघि बढिरहेको दाबी गर्दै बेथितिको अन्त्य, सुशासन प्रवद्र्धन र सेवा प्रवाहमा चुस्तता कायम गर्नुपर्नेमा जोड दिए ।

प्रविधिमैत्री अभ्यासलाई सुदृढ गर्दै कृषि, पर्यटन, जलस्रोत र ऊर्जा क्षेत्रको विकासमार्फत समृद्ध राष्ट्र निर्माण गर्न आजैदेखि संकल्प गर्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ छ । साथै विदेश पलायन रोक्न गाउँमै रोजगारी र आम्दानी सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउँदै श्रमको सम्मान र आत्मनिर्भर अर्थतन्त्रको पक्षमा प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षलाई ‘नयाँ ऊर्जा, नयाँ संकल्प र नयाँ सम्भावनाको खोजी गर्ने समय’ को रूपमा चित्रण गरे । उनले नयाँ वर्षले नेपाली समाजमा आशा, उत्साह र सकारात्मक सोचको विकास गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे ।

‘देशलाई समृद्ध र जनतालाई सुखी बनाउने हाम्रो साझा संकल्प हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यस लक्ष्यमा पुग्न सरकार एक्लैले होइन, सम्पूर्ण नेपालीको साझा प्रयास आवश्यक छ ।’ प्रधानमन्त्री ओलीले जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधता राष्ट्रको साझा सम्पत्ति भएको उल्लेख गर्दै ‘सद्भाव, सहिष्णुता र राष्ट्रप्रेमको मिलनबिन्दुमा उभिएर मात्र देश अगाडि बढ्न सक्ने’ धारणा राखे । उनले देशभित्रको निराशावादी प्रवृत्तिबाट सचेत रहँदै एकता र राष्ट्रप्रेमको भावनामा समर्पित हुन आह्वान गरे ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको रक्षा र राष्ट्रिय चुनौतीहरूलाई सामना गर्न सम्पूर्ण दलहरूलाई दलगत स्वार्थभन्दा माथि उठ्न आग्रह गरे । ‘इतिहासले दिएको अवसरको सदुपयोग गर्दै आर्थिक विकास र सुशासन कायम गर्न सम्पूर्ण जिम्मेवार निकाय एकजुट हुनुपर्ने बेला आएको छ,’ देउवाले भने ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व र समृद्ध नेपाल निर्माणका लागि नयाँ उत्साहसहित अघि बढ्नुपर्ने बताए । कांग्रेस नेता डा. शेखर कोइरालाले कांग्रेसको आगामी महाधिवेशन कुनै बहानामा टार्न खोज्ने कामलाई ‘आत्मघाती’ भनेका छन् । नयाँ वर्षको शुभकामना सन्देशमार्फत उनले पार्टीभित्रै ‘सुकिला मुकिला र पैसावालाको कब्जा’ बढ्दै गएको चेतावनी दिए ।

‘राजनीतिमा देखिएको विकृति–विसंगतिको उपचार पार्टीभित्रबाटै खोज्नुपर्छ,’ कोइरालाले भने, ‘क्लिन पोलिटिक्सको अभियान कांग्रेसले नै अगुवाई गर्नुपर्ने हो, अन्यथा हाम्रो पार्टीमा नैतिकताको मूलधारा बग्न कठिन हुनेछ ।’ उनले नेपाली कांग्रेसमा पुनर्जागरण आवश्यक भएको भन्दै राष्ट्र, धर्म–संस्कृति र समृद्धिका लागि इमानदार र स्वाभिमानी कार्यकर्ताहरूको सक्रियता अपरिहार्य रहेको औंल्याए ।

सम्पादकीय टिप्पणी

नयाँ वर्षको अवसरमा नेताहरूले दिएको सन्देशले राष्ट्रिय एकता, समृद्धि र सुशासनप्रतिको प्रतिबद्धता दोहार्याएको छ । तर जनताले यी अभिव्यक्तिहरूलाई कार्यान्वयनको कसीमा नाप्नेछन् । संकल्प र शुभकामनाबाट अघि बढ्दै साच्चिकै नतिजा देखिने नयाँ वर्ष बनाउने जिम्मेवारी सत्ताधारी र प्रतिपक्ष दुवैको काँधमा छ ।