विराटनगर — काठमाडौँको टोखा क्षेत्रबाट बरामद गरिएको २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्राको प्रकरणमा राजस्व अनुसन्धान विभागले दुई जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेका अनुसार ट्रक चालक कुसाङ लामा उर्फ ’फुच्चे’ र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ का नारायण पौडेलविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ अन्तर्गत मुद्दा दायर गरिएको हो । विभागले उनीहरू विरुद्ध २५ करोड ३४ लाख ७८ हजार रुपैयाँ बिगो मागदाबी गर्दै बरामद रकम जफत गर्न माग गरेको छ ।

यो प्रकरण चैत ४ को राति करिब १० बजे टोखा नगरपालिका–२, झोर महांकाल क्षेत्रबाट सार्वजनिक भएको थियो जब ना.७ ख १६५२ नम्बरको ट्रकमा लुकाइएको अवस्थामा अमेरिकी डलर र युरो गरी २५ करोडभन्दा बढी बराबरको विदेशी मुद्रा बरामद गरिएको थियो ।

प्रारम्भिक अनुसन्धानमा ट्रक चालक लामा केवल भरिया भएको र वास्तविक योजनाकार नारायण पौडेल रहेको खुलाइएको छ । पौडेलले रकम रसुवाको केरुङ नाका हुँदै चीनतर्फ पठाउने योजना बनाएको अनुसन्धानमा उल्लेख छ । प्रहरी स्रोतका अनुसार, ‘२५ करोड बराबरको डलर र युरो सुन खरिदका लागि केरुङतर्फ लगिँदै थियो ।’

पौडेल पहिले खासा व्यापारी थिए, तर तातोपानी नाका बन्द भएपछि उनले केरुङ रुटबाट सुन तस्करी गर्न थालेका थिए । उनका बारेमा अनुसन्धान गर्ने क्रममा तिब्बती महिलासँग विवाह, सिमावर्ती कारोबार र चीन–नेपालबीचको अवैध कारोबारसँगको संलग्नता खुल्दै गएको छ ।

पक्राउ परेका कुसाङ लामा यसअघि पनि २०७३ मा ७ किलो सुनसहित पक्राउ परेका थिए ।  उनी ५ वर्ष जेल बसेर रिहा भएका थिए । यो पटक पनि उनी भरिया मात्र भएको अनुसन्धानको निश्कर्ष देखिन्छ । प्रहरीले पौडेलको खोजी गरिरहेको छ भने यस प्रकरणमा संलग्न अन्य सञ्जालको समेत छानबिन भइरहेको छ ।