विराटनगर– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा अहिले मन्त्री फेरबदल नहुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको लागि प्रयास गरिरहेको अवस्थामा विराटनगरमा शनिबार पत्रकारहरुसँगको कुराकानीमा सभापति देउवाले मन्त्री फेरबदल नहुने बताएका हुन् ।

सभापति देउवाले संविधान संशोधनका लागि दुई तीहाई बहुमत आवश्यक भएकोले दलहरुबीच सहमति नहुञ्जेल संविधान संशोधन प्रक्रिया अघि बढ्न नसक्ने बताएका छन् ।

‘संविधान संशोधनका लागि दुई तीहाई बहुमत चाहिन्छ र त्यसका लागि सबै दलसँगको सहमति चाहिन्छ तर त्यो अवस्था अहिले छैन,’ उनले भने, ‘दलहरुसँग कुरा भइरहेको छ र सहमति भएपछि संविधान संशोधन हुन पनि सक्छ । तर अहिले नै त्यो अवस्था छैन ।’

सामाजिक सञ्जाल प्रधानमन्त्री केपी शर्मा ओली र सर्वोच्च अदालतले पनि दर्ता गराउन भनेको मात्रै रहेको र बन्द नगरिएको उनको भनाइ थियो । पार्टी महाधिवेशनको विषयमा सभापति देउवाले समय आएपछि सबै कुरा हुने बताएका हुन् ।