काठमाडौ– थापाथली करिडोर क्षेत्र ढल निकासको पाइप फुट्दा बिहीबार अस्तव्यस्त बनेको छ । पाइप फुटेर सडकमा फोहोरपानी जम्दा सवारीसाधन र पैदल यात्रीलाई आवागमनमा कठिनाइ भएको छ ।

घटनास्थल आसपास पानी थुप्रिएर सडक डुबानमा परेको छ । सवारी साधन चलाउन मुस्किल भएको छ भने मोटरसाइकल चालक र पैदलयात्रीहरू हिलो र फोहोरपानीले हैरान भएका छन् ।

स्थानीयहरूका अनुसार बिहानैदेखि पानी झिक्न प्रयास भए पनि समस्या समाधान हुन सकेको छैन । यसैबीच बिहीबार दिउँसो काठमाडौँ उपत्यकामा हल्का वर्षा भएको छ जसले सडकको अवस्था झनै बिगारेको छ ।  

जल तथा मौसम विज्ञान विभागको अनुसार काठमाडौँ उपत्यकामा स्थानीय वायुप्रवाहको असरले आंशिक वर्षा भइरहेको छ । सार्वजनिक पूर्वाधारको नियमित मर्मत अभाव र सहरी ढल व्यवस्थापनमा लापरबाहीले यस्तो समस्या बारम्बार देखिएको स्थानीयवासीको गुनासो छ ।