बुटवल  — रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा शनिबार बिहान एक युवती गोली लागेर घाइते भएकी छन् । । हाल बुटवलमा खाजा घर सञ्चालन गर्दै आएकी पाल्पाको रैनादेवी छहरा गाउँपालिकाकी २९ वर्षीया टिका विष्ट क्षेत्रीमाथि अज्ञात युवकले गोली प्रहार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रञ्जित सिंह राठौरका अनुसार मोटरसाइकलमा आएका एक युवकले बिहान करिब साढे नौ बजे टिकामाथि गोली प्रहार गरेका थिए । गोली कम्मरमाथि लागेको प्रहरीले जनाएको छ ।

उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक विवरणअनुसार टिका अविवाहित हुन् । प्रहरीले घटनास्थलबाट गोलीको एक खोका बरामद गरेको जनाएको छ । 

घटनाको कारण र दोषीको पहिचान गर्न आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा प्रहरीले व्यक्तिगत रिसइवी वा पुरानो विवादको आशंकामा अनुसन्धान अघि बढाएको बताएको छ । स्थानीयवासीहरूले गोली चलेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।