काठमाडौँ– नेपाल शिक्षक महासंघले आफ्ना मागहरू कार्यान्वयन गराउन देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई आन्दोलनमा सक्रिय सहभागी हुन आग्रह गर्दै आन्दोलनलाई ‘अन्तिम र निर्णायक चरण’ मा लैजाने घोषणा गरेको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै सबै सरकारी तथा निजी विद्यालयहरू पूर्ण रूपमा बन्द गरी काठमाडौंमा जारी आन्दोलनमा सहभागी हुन शिक्षक–कर्मचारीहरूलाई अनुरोध गरेको छ । ‘देशभरका सबै विद्यालय पूर्णरूपमा बन्द गरी काठमाडौँ आउनुहुन शिक्षक–कर्मचारी साथीहरूमा पुनः अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

महासंघले आन्दोलनको अवधिमा विद्यालय सञ्चालन गर्ने, प्रवेश परीक्षा तथा ग्रेडवृद्धि परीक्षा लिने, उत्तरपुस्तिका परीक्षण, गोष्ठी, सेमिनार र शैक्षिक भ्रमणजस्ता कुनै पनि शैक्षिक गतिविधिमा संलग्न नहुन सबैमा अपिल गरेको छ । कक्षा १२ को परीक्षा सञ्चालनमा संलग्न शिक्षक, प्रधानाध्यापक र विद्यालय कर्मचारीलाई समेत परीक्षाबाट अलग रहन महासंघले विशेष अनुरोध गरेको छ । महासंघका अनुसार विगतमा भएका सबै सहमति कार्यान्वयन गराउन तथा गुणस्तरीय, विद्यार्थीमैत्री र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गराउन राज्यलाई दबाब दिन आन्दोलन जारी राखिएको हो ।