काठमाडौँ — देशभरका परीक्षा केन्द्रमा आइतबार (वैशाख २१)देखि कक्षा १२ को परीक्षा सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमित, आंशिक र ग्रेडवृद्धि तह गरी कूल ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी हुँदैछन्।
बोर्डका अनुसार नियमिततर्फ ३ लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना परीक्षार्थी छन्। परीक्षा सञ्चालनका लागि १ हजार ५९१ परीक्षा केन्द्र तोकिएको छ। देशभरका ५ हजार २०२ विद्यालयका विद्यार्थी परीक्षा दिन लागेका हुन्।
विदेशस्थित केन्द्रमध्ये जापानको एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थी त्यहीँबाट परीक्षा दिने छन्। जिल्लागत विवरण अनुसार सबैभन्दा कम परीक्षार्थी मनाङबाट ४५ जना र सबैभन्दा बढी काठमाडौँबाट ६८ हजार १३३ जना छन्। केन्द्र संख्यामा पनि काठमाडौँमा सबैभन्दा धेरै १६२ परीक्षा केन्द्र तोकिएको छ, भने मनाङ र मुस्ताङमा एक÷एक परीक्षा केन्द्र छन्।
जेठ २ सम्म सञ्चालन हुने परीक्षाका लागि ४८ हजार २०९ जनशक्ति खटाइने बोर्डले जनाएको छ। यसअघि नेपाल शिक्षक महासंघको आन्दोलनका कारण वैशाख ११ बाट सुरु हुने भनिएको परीक्षा १० दिनपछि सरेको हो। परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित र विद्यार्थीमैत्री बनाउन परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अपिल गरेका छन्।
प्रदेशगत परीक्षार्थी संख्या :
.बागमती : १,३५,२४० (सबैभन्दा धेरै)
.कोशी : ८२,८७१
.मधेश : ६९,८०८
.लुम्बिनी : ९०,६७८
.गण्डकी : ४३,३४९
.सुदूरपश्चिम : ५०,६५४
.कर्णाली : ३८,८८८ (सबैभन्दा कम)
परीक्षाको अनुगमन र निरीक्षणका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समिति गठन गरिएको छ। परीक्षा अवधिभर केन्द्राध्यक्ष बाहेक अरूलाई मोबाइल लैजान नपाइने बोर्डले स्पष्ट पारेको छ।
प्रश्नपत्र विद्युतीय प्रणालीमार्फत परीक्षा सुरु हुनु अघिको आधा घण्टामा मात्र केन्द्राध्यक्षले ’युजर आईडी’ प्रयोग गरी डाउनलोड गर्न पाउने छन्। प्रहरी प्रमुखको रोहबरमा मात्र त्यसको छपाइ हुनेछ।
बोर्डले केन्द्र निर्धारण, गोष्ठी, सुरक्षा समन्वय, गोप्य सामग्री व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ। लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार प्रत्येक विषयको सैद्धान्तिक भागमा न्यूनतम ३५ प्रतिशत नल्याउने विद्यार्थीको ग्रेड ननग्रेडिङ हुनेछ।
यता शिक्षक आन्दोलनका कारण रोकिएको एसईई उत्तरपुस्तिका परीक्षण पनि सुरु भएको छ। परीक्षा सकिएको झन्डै तीन सातापछि मात्र मूल्याङ्कन प्रक्रिया सुरु भएकाले असार पहिलो साता भन्नुमा लक्ष्य गरिएको नतिजा प्रकाशन केही ढिला हुने अनुमान छ।