विराटनगर– मोरङको कानेपोखरी गाउँपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका अनुसार काकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको को १ ख ७४८२ नम्बरको यात्रुबाहक बसले स ४ प ५८४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार महिलाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ५५ वर्षीया कुमारी आचार्यको ज्यान गएको प्रहरीले जनाएको छ । उनी उदयपुरको बेलका नगरपालिका–८ की स्थानीय हुन् । मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–१२ का हरि शर्मा भने घाइते भएका छन् । उनलाई थप उपचारका लागि विराटनगर ल्याइएको प्रहरीले जनाएको छ । 

मृतक आचार्य र चालक शर्मा दिदी–भाइ हुन् । दुर्घटनापछि मृतकको शव पोष्टमार्टमका लागि उर्लाबारीस्थित मंगलबारेको मदन भण्डारी अस्पतालमा पठाइएको छ । बस चालक कन्काई नगरपालिका–७ का ५१ वर्षीय सोमलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइ दुर्घटनाबारे अनुसन्धान अघि बढाएको छ ।