विराटनगर- कोशी प्रदेश गल्फ संघको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्डको प्रयोजनमा सम्पन्न दोस्रो कोशी प्रदेश खुला गल्फ प्रतियोगिताको नेट विजेता विराटनगरका नितेश गुप्ता भएका छन् । धरान गल्फ क्लबको गल्फ कोर्समा सम्पन्न प्रतियोगिताको नेट विधा तर्फ ९ अन्डर अंक सहित गुप्ता विजेता भएको हो।
नेट तर्फको दोस्रो स्थान रमेश चौधरीले हासिल गर्न सफल भए भने तेस्रो स्थानमा राजीव घिमिरे रहयाे। प्रतियोगिताको ग्रस तर्फ ३ अन्डर अंक सहित सुमन परियार विजयी भएका छन् भने उपविजेतामा गजेन्द्र लिम्बूले चित्त बुझाएका हुन् ।
त्यस्तै , जुनियर तर्फको खेलमा दिपेश श्रेष्ठ विजेता र लक्की साह उपविजेता भएका छन् । प्रतियोगिताको सिनियर तर्फको खेलमा तुलसी लिम्बू जित्दा विजय राई दोस्रो स्थानमा रहयो ।
महिला तर्फको खेलमा पोखराकी दानवी गुरुङ विजेता र सुमित्रा लिम्बू उपविजेता भएका छन् । प्रतियोगितामा विश्व गुरुङले नियरेस्ट टु द पिन, सरोज थापाले मष्ट बर्डिज र धिरज लिम्बूले लङ्गेष्ट ड्राइभ जित्न सफल भएको कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयेश प्याकुरेलले जानकारी दिए ।
प्रतियोगिताको विजयीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, संघका अध्यक्ष प्याकुरेल लगायतले ट्रफी हस्तान्तरण गरे ।