काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता एवं पूर्वपत्रकार अनन्त लुइँटेलले आइतबार थापाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।
सर्वोच्च प्रशासनले उनको रिट निवेदनमा मंगलबारको पेसी तोकिदिएको छ । सांसदसमेत रहेका थापाले संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्तिमा अदालतले ‘डिल’ गरिरहेको आरोप लगाएका थिए ।
वैशाख ११ मा लोकतन्त्र दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा थापाले संवैधानिक आयोगका पदाधिकारीलाई अदालतले ‘तँलाई हान्दिऊँ’ भन्दै झुलाइरहेको टिप्पणी गरेका थिए । ‘अहिले सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका विषयहरूलाई दुई÷तीन वर्षदेखि ‘तँलाई हान्दिऊँ’ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याइनभ्याइ भन्छ, कहिले भोलि हेर्ने भन्छ । त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न उठाउँछ,’ उनले भनेका थिए ।