काठमाडौँ – नेपाल बार एसोसिएसनले पेशागत र अन्य माग राखी आन्दोलनरत नेपाल शिक्षक महासंघसँग शीघ्र वार्ता गरी उचित र न्यायपूर्ण समाधान खोज्न सरकारसँग अपिल गरेको छ।

सोमबार जारी गरेको विज्ञप्तिमा बार एसोसिएसनले संघीय राजधानी काठमाडौँका प्रमुख र व्यस्त सडकहरूमा आन्दोलनका कारण यातायात र दैनिक जनजीवन प्रभावित भएको र पठनपाठनमा अवरोध सिर्जना भएको विषयमा चिन्ता व्यक्त गर्दै शीघ्र समाधानको पहल गर्न अनुरोध गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘जनताको संविधानप्रदत्त हकको उल्लङ्घन गर्दै विद्यार्थीहरूको परीक्षा अवरुद्ध भएको छ । यसका साथै आन्दोलनको कारण जनजीवन कष्टकर भएको छ । नेपाल बार एसोसिएसनले संघीय संसद, नेपाल सरकार र नेपाल शिक्षक महासंघसँग शीघ्र वार्ता गरेर समाधानको पहल गर्न अपिल गर्दछ ।’

विज्ञप्तिमा शिक्षक, पत्रकार र सुरक्षाकर्मीहरूको बीचमा भएको दोहोरो झडपमा घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै संविधान प्रदत्त विरोधका कार्यक्रमलाई शान्तिपूर्ण राख्न र बल प्रयोग नगर्नका लागि अपील पनि गरिएको छ।

सर्वोच्च अदालतले गत बिहीबार सरकारलाई आदेश दिँदै शिक्षकहरूको जायज माग तीन दिनभित्र सम्बोधन गर्न र पठनपाठनमा फर्काउन भनेको थियो । तर उक्त आदेशपछि सरकारले शिक्षकहरूलाई आन्दोलनबाट फर्काउने वातावरण बनाउन असफल भएको देखिएको छ।

शिक्षामन्त्री रघुजी पन्तको प्रयाससँगै वार्ता भएको भएता पनि बिना निष्कर्ष टुंगिएको छ। शिक्षकहरूको माग सम्बोधनको प्रगति विवरण शिक्षा मन्त्रालयले सर्वोच्च अदालतलाई पठाएको छ। सर्वोच्चको आदेशअनुसार शिक्षकहरू विद्यालय फर्किने वातावरण बनाउन सरकारमाथि शीघ्र कदम चाल्नुपर्ने दबाब बढेको छ।