काठमाडौं – सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई अदालतमा विचाराधीन मुद्दामा प्रतिकूल असर पर्ने खालका अभिव्यक्ति नदिन आदेश दिएको छ।
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार सुनुवाइ गर्दै अदालतको मानहानीसम्बन्धी मुद्दामा थापालाई यस्तो आदेश दिएको हो।
'अदालतसमक्ष विचाराधीन मुद्दामा प्रतिकूल असर पर्ने गरी कुनै अभिव्यक्ति दिने कार्य नगर्नू, नगराउनू,' आदेशमा उल्लेख छ, 'निष्पक्ष न्याय सम्पादनको प्रक्रियाको संवेदनशीलतालाई समेत विचार गरी यो आदेश जारी गरिएको हो।'
साथै अदालतले थापासँग उक्त प्रकरणमा लिखित जवाफ पनि मागेको छ।
थापाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संवैधानिक निकायमा गरिएको विवादास्पद ५२ नियुक्तिका विषयमा सर्वोच्च अदालतले 'डिल' गरेको भन्ने सार्वजनिक टिप्पणी गरेका थिए। सो अभिव्यक्तिले न्यायालयको गरिमामाथि आघात पुगेको भन्दै अधिवक्ताहरू अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले सर्वोच्चमा मानहानीको मुद्दा दायर गरेका थिए।