काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब र सुविधा दिने प्रलोभन देखाउँदै युएई र माल्टा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले सोमबार र मंगलबार दुई फरक स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–६ बस्ने, धादिङ नीलकण्ठ नगरपालिका–६ का २९ वर्षीय उमेश गुरूङ र काठमाडौँ महानगरपालिका–२ का ५६ वर्षीय सुजन कुमार उप्रेती रहेका छन्। प्रहरीका अनुसार उमेशले युएई पठाइदिन्छु भन्दै ४ जना पीडितहरूसँग ६ लाख रूपैयाँ ठगी गरेका थिए भने उप्रेतीले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितसँगै २४ लाख रूपैयाँ लिइ सम्पर्कविहीन भएका थिए।

प्रहरीका अनुसार उमेशलाई चन्द्रागिरीबाट सोमबार र उप्रेतीलाई काठमाडौँ महानगरपालिका–१ बाट मंगलबार नियन्त्रणमा लिइएको हो। उनीहरूलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँ पठाइएको छ।

नेपालमा वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई प्रलोभन देखाइ ठगी गर्ने प्रवृत्ति कोई नौलो होइन। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार प्रत्येक वर्ष दर्जनौँ व्यक्ति यस्तै ठगीको सिकार हुन्छन्। विभागकै अनुसार २०८०/८१ मा मात्र झण्डै ५ सय बढी ठगीका उजुरी दर्ता भएका थिए, जसमा माल्टा, क्रोएसिया, युएई, पोल्यान्ड, कतार, मलेसिया लगायतका गन्तव्यहरू प्रमुख रूपमा उल्लेख छन्।

विश्लेषकहरूका अनुसार कमजोर नियमन, दलाल सञ्जालको पहुँच, विदेश जाने चाहनामा गरिने भावनात्मक शोषण र पीडितको कानुनी पहुँचको अभावका कारण यस्ता ठगीका घटना बढ्दो छन्। ‘सामान्य जनतामा अझै पनि विदेश जाने कुरा सपना जस्तै लाग्छ। दलालहरू यही कमजोरीमा खेल्छन्,’ वैदेशिक रोजगारीमा काम गर्दै आएका एक सामाजिक अभियन्ताले भने।

प्रहरीले यस्ता खाले ठगीबाट जोगिन प्रमाणित इजाजतप्राप्त वैदेशिक रोजगार कम्पनीमार्फत मात्र प्रक्रिया अघि बढाउन सुझाव दिएको छ। साथै यस्ता घटनाको उजुरी ढिलो नगर्नसमेत आग्रह गरिएको छ।