ललितपुर — वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथयात्रा आजदेखि सुरु भएको छ। ललितपुरको पुल्चोकमा रथारोहण गरिएपछि रथयात्रा गाःबहाल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पु¥याइनेछ, जहाँ भोटो देखाउने परम्परा छ ।

करिब १६०० वर्ष पुरानो इतिहास बोकेको यो जात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा पुरानो र लामो जात्राका रूपमा चिनिन्छ। वैशाख शुक्ल प्रतिपदादेखि सुरु हुने यो रथयात्रा असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्ने गर्छ ।

रथयात्राको क्रममा मत्स्येन्द्रनाथको रथ पुल्चोकबाट तानेर विभिन्न टोलहरू हुँदै जावलाखेलमा पु¥याइन्छ, जहाँ भोटो देखाउने परम्परा छ। भोटो देखाउने परम्परा लिच्छवी कालदेखि चलिआएको मानिन्छ, जसमा एक भूतले लगाएको भोटो कसको हो भन्ने विवाद समाधान नभएपछि भोटो मत्स्येन्द्रनाथको जिम्मा लगाइएको थियो। त्यसपछि हरेक वर्ष भोटो देखाउने परम्परा सुरु भएको हो ।

रथयात्रा सम्पन्न भएपछि मत्स्येन्द्रनाथको मूर्ति सानो खटमा राखी बुङ्गमती पु¥याइन्छ, जहाँ छ महिनासम्म राखिने परम्परा छ। त्यसपछि साइत हेरेर पुनः पाटनको मच्छिन्द्रबहालमा ल्याइन्छ ।

रातो मत्स्येन्द्रनाथको रथयात्रा ललितपुरको सांस्कृतिक पहिचानको प्रतीक हो, जसले धार्मिक सहिष्णुता, सामाजिक एकता र सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ।