विराटनगर– उदयपुरको कटारी नगरपालिकामा बिहीबार अपराह्न एक स्कोर्पियो दुर्घटनामा परेर झापाको दमक निवासी कानुन अधिकृत ५५ वर्षीय माधव बस्नेतको ज्यान गएको छ। दुर्घटनामा अन्य ६ यात्रु घाइते भएका छन्।
चितवनबाट झापा जाँदै गरेको मे १ च ३०४० नम्बरको स्कोर्पियो गाडी कटारी नगरपालिका–६, सोमबारेस्थित मदन भण्डारी लोकमार्गमा अपराह्न करिब ४ बजे अनियन्त्रित भइ सडक छेउको फलामको ट्रस्ट बेरियरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
गम्भीर घाइते बस्नेतलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल, कटारी पु¥याइएको थियो। तर, अस्पताल पु¥याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा घाइते हुनेहरूमा स्कोर्पियो चालक झापा, दमक–९ का ३८ वर्षीय देवेन्द्र तामाङ, दमक–१० का ४९ वर्षीय राजेन्द्र प्रसाद भण्डारी, दमक–१ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक–६ का ५४ वर्षीय कमल श्रेष्ठ, दमक–२ का ३८ वर्षीय नबिन खतिवडा र गौरादह नगरपालिका–१ का ५४ वर्षीय भुवन दाहाल छन्।
उनीहरूको अवस्था मध्यम र सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ। हाल उनीहरूको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको छ।