वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जलाई पदबाट हटाएका छन्। संवेदनशील सैनिक योजनाबारे भएको छलफलमा एक पत्रकारलाई गल्तीले सहभागी गराएपछि वाल्ट्ज चर्को विवादमा परेका थिए। अन्ततः ट्रम्पले उनलाई जिम्मेवार ठहर गर्दै पदमुक्त गरेका हुन्। वाल्ट्जको बर्खास्तीसँगै राष्ट्रपति ट्रम्पले उनलाई संयुक्त राष्ट्रसंघका लागि अमेरिकाको स्थायी प्रतिनिधि बनाउने घोषणा पनि गरेका छन्।
सैनिक कारबाहीबारे छलफलमा पत्रकार सामेल
एक महिनाअघि राष्ट्रपतिका वरिष्ठ सल्लाहकारहरूसहितको एक गोप्य संवाद समूहमा यमनका हुथी विद्रोहीहरूविरुद्धको हवाई कारबाहीबारे छलफल भइरहेको थियो। ’सिग्नल’ नामको सञ्चार माध्यम प्रयोग गरी सञ्चालित उक्त समूहमा वाल्ट्जले गल्तीले पत्रकार जेफ्री गोल्डबर्गलाई समेत समावेश गराए। गोल्डबर्ग ट्रम्पका आलोचक मानिने अमेरिकाको ’द अटलान्टिक’ पत्रिकाका प्रधान सम्पादक हुन्।
समूहमा आक्रमणको समय, स्थान, रणनीति लगायतका विषयवस्तु छलफल भएको पुष्टि भएको छ। त्यसपछि सो गल्तीले शिर्ष नेतृत्वमा नै गम्भीर असर पारेको थियो।
प्रारम्भिक मौनता, अन्ततः बर्खास्ती
यो घटना सार्वजनिक भएपछि राष्ट्रपति ट्रम्पले सुरुमा यसलाई सामान्य भूलका रूपमा व्याख्या गरेका थिए। तर राष्ट्रपतिका आलोचकहरूले यसलाई राष्ट्रिय सुरक्षामा खतराको संज्ञा दिँदै छानबिनको माग गरेका थिए। अन्ततः ट्रम्पले कार्यकालको सयौँ दिन पुगेपछि वाल्ट्जलाई बर्खास्त गरे।
अर्को जिम्मेवारीमा पुनःस्थापन
वाल्ट्जको बर्खास्तीसँगै राष्ट्रपति ट्रम्पले उनलाई संयुक्त राष्ट्रसंघका लागि अमेरिकाको स्थायी प्रतिनिधि बनाउने घोषणा गरेका छन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत वाल्ट्जको प्रशंसा गर्दै लेखेका छन्, ‘माइक वाल्ट्जले हाम्रो राष्ट्रको हितलाई सधैं पहिलो स्थानमा राखे। मलाई विश्वास छ, उनले नयाँ भूमिकामा पनि त्यही समर्पण देखाउनेछन्।’
यो घटनाले उच्च तहका पदाधिकारीहरूबाट हुने सानो गल्तीले पनि कति गम्भीर परिणाम निम्त्याउन सक्छ भन्ने स्पष्ट देखाएको छ। साथै संवेदनशील सूचनाको सुरक्षामा सरकार कति सजग हुनुपर्ने भन्ने सन्देश पनि दिएको छ। वाल्ट्जको बर्खास्तीले प्रशासनिक जवाफदेहिता र पारदर्शिताका विषयमा बहस चर्काएको छ।