काठमाडौँ — नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सात बुँदे सहमति कार्यान्वयन गर्न सरकार चुकेको आरोप लगाएका छन्। सरकार गठनका बेला यो सहमति भएको थियो ।संसद् भवन नयाँ बानेश्वरमा सोमबार  सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कोइरालाले संविधान संशोधन, आर्थिक सुधार, भ्रष्टाचार नियन्त्रण, दण्डहीनताको अन्त्य र सुशासन कायम गर्ने जस्ता प्रतिबद्धताहरू कार्यान्वयनमा सरकार असफल भएको बताएका हुन्।

‘सात बुँदे सहमतिमा उल्लेख गरिएका विषयमा सरकारको ध्यान गएको देखिँदैन,’ कोइरालाले भने, ‘यी विषयमा प्रगति भएको भए देशले फरक अनुभूति गर्न सक्थ्यो।’कोइरालाले संविधान पुनरावलोकन जस्तो संवेदनशील विषयमा एमाले–कांग्रेसको दुईतिहाइ बहुमत मात्र पर्याप्त नहुने उल्लेख गरे।

उनका अनुसार यस्तो विषयमा संसद्मा रहेका सबै दलहरू र सरोकारवालाहरूको राय लिएर मात्रै अघि बढ्नुपर्ने हुन्छ।कांग्रेसभित्रको आन्तरिक विवादबारे उठेका प्रश्नमा कोइरालाले स्पष्ट पार्दै भने, ‘कांग्रेसभित्र कुनै समस्या छैन। वर्तमान सरकार ढाल्न लागिएको भन्ने आरोप पनि निराधार हो।’उनले दुई दलबीच बनाइएको संयन्त्रबारे आफूले ‘त्यस्तो संयन्त्र आवश्यक छैन’ मात्र भनेको स्पष्ट गर्दै भने, ‘संयन्त्र बनाउनै परे सरकारभित्रैबाट बनाउनु उपयुक्त हुन्छ।’