विराटनगर– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाले पनि देशको मौसममा आंशिक प्रभाव पारेको विभागको भनाइ छ।
यस मौसमी प्रभावका कारण हाल देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहँदा बाँकी भूभागमा मौसम मुख्यतः सफा देखि आंशिक बदली रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको जानकारी प्राप्त भएको छ।
आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भागमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ। पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि रहेको छ।महाशाखाले चट्याङसहितको वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन नागरिकहरूलाई अनुरोध गरेको छ।