विराटनगर- चोरीको मोबाइलका लागि दुई पक्ष जुध्दा एक युवकको ज्यान गयो सुन्दा अचम्म लाग्ला । काठमाडौँ महानरपालिका–७ चाबहिलस्थित कुमारीगालमा आइतबार बिहान यस्तै भयो । चक्कु प्रहारबाट २३ वर्षीय अमृत भनेर चिनिने संघर्ष कार्कीको मृत्यु भयो ।

प्रहरीका अनुसार चोरीको मोबाइल धेरै महँगो पर्ने पनि थिएन । प्रहरीले तयार पारेको घटना विवरणअनुसार एउटा समूहले चोरेको सानो मोबाइल अर्को पक्षले देख्छ। मोबाइल कसले लैजाने विवाद बढेर चक्कु हानाहानमा एक जनाको मृत्यु हुन्छ। अर्का घाइते हुन्छन् । दुई समूहबीचको झडपबाट अमृत र १९ वर्षीय क्षितिज कार्की घाइते भएका थिए। प्रहरी घटनास्थल पुगेर उनीहरूलाई उपचारका लागि केएमसी अस्पताल लग्यो । अमृतको साँझ ७ बजे मृत्यु भयो ।

कार्कीलाई भने उपचार पछि प्रहरी वृत्त गौशालामा राखिएको छ। काभ्रेपलाञ्चोकको धुलिखेल-९ पानीट्याङ्कीका अमृत काठमाडौँको गोकर्णेश्वर-६ मा बस्थे । झापाको भद्रपुर- २ का कार्की पनि गौकर्णेश्वर ६ मा बस्थे । कार्कीसहित प्रहरीले अन्य दुईलाई पनि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँको कपन बस्ने दोलखा जिरी-१ का २२ वर्षीय युनिक लामा भन्ने नुर्वु शेर्पा र गोकर्णेश्वर-८ बस्ने सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-८ का २० वर्षीय विशाल तामाङ छन्। काठमाडौँ प्रहरी परिसरका अनुसार अर्का एक फरार छन् । पक्राउ परेकाहरूलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएर ५ दिनको अनुसन्धान म्याद लिइएको प्रहरीले भनेको छ ।

कसरी भयो घटना ?

बिहानको करिब ५ बजेको थियो । काठमाडौंको सरस्वती नगरको बाटोमा एक पुरूष जाँदै थिए । मादक पदार्थ सेवन गरेका ती पुरूष नियन्त्रणमा थिएनन् । एउटा समूहले ती पुरूषलाई देख्यो । उनीहरू क्षितिज कार्की, विशाल तामाङ र प्रशान्त नामक एक युवक थिए। उनीहरुले ती पुरूषलाई लुट्ने योजना बनाए। क्षितिजसँग सानो चक्कु पनि थियो। ती पुरूषको मोबाइल फोन लुटे। त्यसरी लुटिरहेको दृष्य नजिकै बसेर युनिक लामा भन्ने नुर्वु शेर्पाले हेरिरहेका थिए। काठमाडौँको कपन सिमलटार बस्दै उनी दोलखाका हुन् ।

नुर्वु पनि वरिपरिका गल्लीहरूमा साथीभाइसँग भौंतारिरहन्थे । नुर्वुले त्यो समूहका लागि अपरिचित थिए । तर त्यस दिन उनले फोन लुट्ने सोच बनाए। नुर्वु एक्लै तीन जनासँग भिड्न सक्दैन्थे । तर उनलाई जसोतसो त्यो फोन लुट्ने चाहना थियो। उनीहरु सबै लागुऔषध प्रयोगकर्ता हुन् । नुर्वुले अर्को समूहले लुटेको देख्यो। लुटेकै फोन न हो भन्दै उनले पनि लुटौं भनेर मनसाय बनाए । एक्लैले नसक्ने भएपछि नुर्वुले साथी अमृत भन्ने संघर्ष कार्कीलाई बोलाउँछन्। नुर्वु र अमृतले तीन जनासँग धम्क्याएरै लुट्न सक्ने सोच बनाए। फोन लुट्नेहरु बसिरहेको ठाउँ कुमारीगाल उनीहरु पुगे।

त्यहाँ पुगेर नुर्वुले क्षितिजको समूहलाई ‘फोन लुटेको देखेको छु। त्यो फोन दे।’ भन्यो।क्षितिजको समूहले फोन दिन मानेन । दुवै पक्षबीच अहमको टकराव हुन्छ । एकाएक दुई पक्षबीच झडप सुरू हुन्छ। प्रहरीकाअनुसार सुरूमै क्षितिजले चक्कु निकालेर अमृतको छातीमा एक पटक प्रहार गरेको देखिएको छ। घाइते अमृत गल्लीको बाटो हुँदै एक ठाउँ रोकिएर भित्तामा अडेस लगाए ‌।

उता नुर्वुले साथीलाई छुराले हिर्काएको भनेर चक्कु खोसेर क्षितिजमाथि प्रहार गरे ।क्षितिजको हात, पिँठ्यू र तिघ्रामा चोट लाग्यो । स्थानीयले देखेकाे हुनाले प्रहरीलाई खबर पुग्यो । खबर भएको लगतै प्रहरी घटनास्थलमा पुग्यो । प्रहरीले नै दुवै पक्षका घाइतेहरूलाई गाडीमा हालेर अस्पताल लगियो ‌। भित्तामा अडेस लिएका अमृत अचेत भइसकेका थिए। उनी र क्षितिजलाई प्रहरीले काठमाडौं मेडिकल कलेज पुर्‍यायो। तर अस्पताल पुर्‍याएपछि अमृतलाई चिकित्सकले मृत घोषणा गरे। प्रहरीले त्यही बेला नुर्वु र विशाललाई नियन्त्रणमा लियो। उपचारपछि क्षितिजलाई पनि पक्राउ गरी अनुसन्धान थालेको छ। अर्का प्रशान्त भन्ने फरार छन्।