विराटनगर— सैनिक कल्याणकारी कोषको दुई करोड २१ लाख ८५ हजार रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा नेपाली सेनाले बहालवाला दुईजना उच्च अधिकृतमाथि अनुसन्धान सुरु गरेको छ।सैनिक कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बिमा शाखाबाट काल्पनिक नाम समावेश गरी रकम भुक्तानी गरिएको उजुरीपछि सहायक रथी रोशन खड्का र सेनानी बोधराज कार्कीलाई नेपाली सेनाले नियन्त्रणमा लिइ आन्तरिक अनुसन्धान थालेको हो।
उक्त प्रकरणमा संलग्न दुईजना अवकाशप्राप्त सैनिकलाई भने सेनाले नेपाल प्रहरीको जिम्मा लगाएको छ। प्रहरीको जिम्मा लगाइएका अवकाशप्राप्त जमदार आत्मराम थापा र अवकाशप्राप्त प्रमुख सेनानी लक्ष्मण अधिकारीमाथि ‘आपराधिक विश्वासघात’ शीर्षकमा मुद्दा दर्ता गरिएको छ।
काठमाडौँ जिल्ला अदालतमा बिहीबार दायर मुद्दामा थापा र अधिकारीविरुद्ध दुई करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ बिगो कायम गरिएको छ। अभियोगपत्रअनुसार उक्त रकम आर्थिक वर्ष २०७३ फागुन ९ देखि २०७५ असोज १७ सम्मको अवधिमा हिनामिना गरिएको हो।
प्रहरी अनुसन्धानका अनुसार उनीहरूले २०७४ कात्तिक १३ देखि २०७५ भदौ २६ सम्मको अवधिमा १४४ वटा चेकमार्फत एक करोड ७४ लाख २१ हजार ३२९ रुपैयाँ र २०७३ फागुन ९ देखि २०७५ असोज १७ सम्मको अवधि बीच ४० वटा चेकमार्फत ४७ लाख ६४ हजार १८५ रुपैयाँ हिनामिना गरेका थिए।
जंगी अड्डास्थित सैनिक प्रहरी गणले २०८१ चैत ३१ मा नेपाल प्रहरीलाई पत्र पठाएर अवकाशप्राप्त सैनिकहरूमाथि अनुसन्धान गर्न अनुरोध गरेपछि सोही आधारमा मुद्दा अगाडि बढाइएको हो।प्रहरीसँगको बयानमा जमदार थापाले चेक भरिदिनुका साथै नगद उठाएर तत्कालीन सेनानी लक्ष्मण अधिकारी, बोधराज कार्की र प्रमुख सेनानी रोशन खड्कालाई रकम बुझाउने गरेको स्वीकारेका छन्।
उनले भनेका छन्, ‘मैले चेकहरू तयार गरी नगद लिइ तत्कालीन अधिकारीहरूलाई बुझाउने गर्थें। म सबैभन्दा जुनियर भएकोले चेन अफ कमान्डमा आदेश मान्न बाध्य थिएँ।’प्रहरी अनुसन्धानले चारै जनाले आपसी मिलेमतोमा काल्पनिक तथा दोहोरो नाम प्रयोग गरी वास्तविक लाभग्राहीलाई नदिइ रकम हिनामिना गरेको ठहर गरेको छ।
##नेपाली सेना