विराटनगर — पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले पछिल्ला चार दिनयता बढाइरहेको आक्रामक सैन्य गतिविधिलाई जवाफ दिन अब पाकिस्तानसँग पूर्ण युद्धबाहेक अन्य विकल्प बाँकी नरहेको चेतावनी दिएका छन्।एक पाकिस्तानी समाचार च्यानलसँगको अन्तर्वार्तामा उनले भने, ‘हामीसँग अब यसबाहेक कुनै विकल्प छैन। हामीले उनीहरूलाई उस्तै सिक्कामा जवाफ दिनुपर्छ।’
भारतबाट प्रकाशन हुने फस्र्टपोस्ट अनलाइनका अनुसार युद्ध ढोकासम्म आइपुगेको हो कि भन्ने प्रश्नमा रक्षामन्त्री आसिफले भने, ‘पक्कै पनि, यसबारे कुनै शंका गर्नुपर्दैन।’तर यस्तै सन्दर्भमा भारतीय सैन्य अड्डामा पाकिस्तानबाट ड्रोन आक्रमण हुनु अघि बुधबार सीएनएनलाई दिइएको अन्तर्वार्तामा उनले भनेका थिए, ‘यो द्वन्द्व पूर्ण युद्धमा फैलिन सक्ने सम्भावना छ, जसलाई हामी रोक्न चाहन्छौं।’
रक्षामन्त्रीको पछिल्लो टिप्पणी भारतले ‘अपरेसन सिन्दूर’ अन्तर्गत पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरका कम्तीमा नौ आतंकवादी संरचनाहरूमा क्षेप्यास्त्र आक्रमण गरेपछि आएको हो। भारतले उक्त आक्रमण कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी आक्रमणको प्रतिकारस्वरूप गरेको बताइएको छ। उक्त आक्रमणमा २६ जनाको मृत्यु भएको थियो।