विराटनगर– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले विश्वभरका अधिकांश शरणार्थीलाई अमेरिकामा प्रवेशमा रोक लगाए पनि दक्षिण अफ्रिकाका गोरा अल्पसंख्यकलाई भने शरणार्थीका रूपमा विशेष प्राथमिकता दिँदै स्वागत गर्न थालेको छ।
ट्रम्पले घोषणा गरेको विशेष कार्यक्रमअनुसार गोरा दक्षिण अफ्रिकीहरूको पहिलो समूह आइतबार जोहान्सबर्गको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका प्रस्थान गरेको हो।
चार्टर फ्लाइटमार्फत अमेरिका प्रस्थान
समाचार संस्था रोयटर्सका अनुसार जोहान्सबर्ग विमानस्थलमा गोरा नागरिकहरूको लामो लाइन देखिएको थियो। उनीहरू अमेरिका जाने चार्टर फ्लाइटका लागि डिपार्चर लाउन्जतर्फ अघि बढ्दै थिए।
दक्षिण अफ्रिकी यातायात विभागका प्रवक्ता कोलेन म्सिबीका अनुसार आपराधिक मुद्दा नचलेका यात्रुहरूमाथि प्राथमिकता दिँदै ४९ जनालाई अमेरिका जान अनुमति दिइएको हो। ती यात्रुहरू वासिङ्टन डीसी नजिकको डुल्स अन्तर्राष्ट्रिय विमानस्थल हुँदै टेक्सास प्रस्थान गर्ने कार्यक्रम छ। स्थानीय समयअनुसार राति साढे आठ बजे उनीहरू विमान चढिसकेको भए पनि उडान भने भइसकेको थिएन।
ट्रम्पको निर्णयले अन्तर्राष्ट्रिय विवाद चर्कियो
ट्रम्प प्रशासनले अफ्रिकानर्स भनिने दक्षिण अफ्रिकाका गोरा अल्पसंख्यक—विशेषतः डच मूलका वंशजहरूलाई ऐतिहासिक अन्याय र पछिल्ला रंगभेदी हिंसाको शिकार भएको दाबी गर्दै शरणार्थीको दर्जा दिने निर्णय लिएको हो।
यो निर्णयसँगै अमेरिका र दक्षिण अफ्रिकाबीच कूटनीतिक विवाद चर्किएको छ। अमेरिकी सञ्चार माध्यमका अनुसार ट्रम्प प्रशासनले अन्य देशका हजारौं शरणार्थीको आवेदन अस्वीकृत गर्दै आइरहे पनि गोरा अफ्रिकानर्सलाई भने अपवादका रूपमा शरण दिन लागेको हो। (रोयटर्सबाट साभार)
#दक्षिण अफ्रिका