विराटनगर — हाल देशभर पश्चिमी वायु, स्थानीय प्रणाली तथा बंगालको खाडी र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावले मौसम बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भागमा मौसम सफादेखि आंशिक बदली हुने अनुमान गरिएको छ।
कोशी र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा तथा अन्य पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने सम्भावना महाशाखाले जनाएको छ।
आज रातिसमेत मौसममा उल्लेखनीय उतारचढाव देखिनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भूभागमा मौसम सफा रहने अनुमान गरिएको छ। साथै ती क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको जनाइएको छ।महाशाखाले सम्भावित वर्षा र हिमपातलाई ध्यानमा राख्दै सवारीसाधन चालक, यात्रु र हिमाली क्षेत्रका स्थानीयलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
#मौसम