विराटनगर– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले न्यायपालिकाको नियतसँगै प्रेस जगतमाथि गम्भीर प्रश्न उठाउँदै संविधान र न्यायिक प्रक्रियाको उल्लङ्घन भइरहेको आरोप लगाएकी छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले पछिल्लो समय अदालतले स्वतन्त्र न्यायिक प्रक्रियाको मर्मविपरीत काम गर्न थालेको बताइन्। सहकारी ठगी मुद्दामा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेको सन्दर्भ उल्लेख गर्दै सांसद गौतमले उच्च अदालत पोखराले अर्को पक्षलाई जानकारी नदिइ सुनुवाइ सुरु गर्नु ‘प्राकृतिक न्यायको सिद्धान्तको घोर उल्लंघन’ भएको टिप्पणी गरिन्।

‘सूचना दिएर मात्र पेसी राख्ने हो,’ सांसद गौतमले भनिन्, ‘सुनुवाइ सुरु भइसकेपछि विपक्षीले के तर्क गरे भन्ने पनि सुन्न नपाइ कसरी आफ्नो पक्ष राख्ने ? यसरी एकपक्षीय रूपमा अघि बढाइएको प्रक्रिया न्यायको सारवस्तुमाथि नै प्रहार हो।’

उनको भनाइमा अदालत निष्पक्ष देखिनु मात्रै होइन, निष्पक्ष हुनुपर्ने संवैधानिक दायित्वबाट च्युत हुँदै कार्यपालिकाजस्तै प्रवृत्तिको अनुकरण गर्न थालेको देखिन्छ। यस्तो अवस्था विधिको शासनका लागि गम्भीर खतरा भएको उनले बताइन्।

गौतमले नागरिक समाज र प्रेस जगतलाई पनि संविधान र कानुनी शासनका पक्षमा सचेत भूमिका खेल्न आग्रह गरिन्। ‘विधि मिचिएको विषयमा खबरदारी गर्नु प्रेस जगतको मूल धर्म हो। कुनै व्यक्तिलाई गैरकानुनी तरबारको प्रहारबाट मार्न नदिने जिम्मेवारी पनि हाम्रो हो,’ उनले भनिन्।

उनले अदालतबाट लामिछानेसम्बन्धी मुद्दामा आएको आदेश संसद्मा उद्धृत गर्दै भनिन्, ‘मुद्दा हेर्दाहेर्दैमा छ भनेपछि बल्ल प्रतिवादीलाई पेसीको जानकारी देऊ भन्ने आदेश अचम्म लाग्दो छ।’ उनले यस्तो कार्यले न्यायप्रति नै आम नागरिकको विश्वास खस्काउने खतरा रहेको औँल्याइन्।‘संविधानले प्रधानन्यायाधीशलाई न्यायप्रशासनको सम्पूर्ण जिम्मेवारी दिएको छ,’उनले जोड दिइन्, ‘संविधानको रक्षकले न्यायालयको भरोसा बिगार्ने काम गर्नु हुँदैन।’
 

#सोबिता# गौतम#न्यायपालिका