विराटनगर– जनता आदर्श बहुमुखी क्याम्पस विराटनगरको आइतबार शैक्षिक भवनको शिलान्यास गरिएको छ । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विजुकुमार थपलियाले पुष्पलाल चोकस्थित जनता आदर्श क्याम्पस परिसरमा तीन तल्ले भवन निर्माणका लागि सिलान्यास गरेका हुन् ।
उपकुलपति थपलियाले भवन निर्माण सम्पन्न भएपछि क्याम्पसमा कक्षाकोठा अभावको समस्या समाधान हुने बताएका छन् । जनता आदर्श क्याम्पसमा सामाजिक कार्य अन्तर्गत स्नातक तहमा (बी.एस.डब्ल्यू), स्नातकोत्तर तहमा (एम.एस.डब्ल्यू), शिक्षा शास्त्र संकायअन्तर्गत स्नातक तहमा एक वर्षे र चार वर्षे बी. एड., स्नातकोत्तर तहमा एम. एड., जनसंख्या तथा विकास केन्द्रअन्तर्गत स्नातकोत्तर तहको एम.एस.सी.पी.आर.डी. तथा कानून संकाय अन्तर्गत स्नातक तहमा तीन वर्षे एल.एल.बी., पाँच वर्षे बी.ए.एल.एल.बी. र स्नातकोत्तर तहमा एल.एल.एम गरी नौ वटा शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको छ ।
क्याम्पसमा विद्यार्थी तान्न नयाँ शैक्षिक कार्यक्रमहरु थपिए पनि विद्यार्थी संख्या वर्षेनी घट्दै गएको क्याम्पसको तथ्यांकले जनाएको छ । विद्यार्थी घट्दै गए पनि विश्वविद्यालय भौतिक संरचना भने थपेको थप्यै गरेको हो । क्याम्पसमा अध्यापन गराउँदै आएका प्राध्यापकहरुले भौतिक संरचनासँथै विद्यार्थीको संख्यामा पनि वृधि गर्ने रणनीति क्याम्पस एवं विश्वविद्यालय प्रशासनले अबलम्बलन गर्नुको विकल्प नभएको बताएका हुन् ।
भूमिस्थान÷भोलेनाथ जे.भि. कुपण्डोल ललितपुरले मूल्य अभिवृद्धि कर बाहेक दुई करोड ३४ लाख ५८ हजार रूपैयाँ लागतमा भवन निर्माणका लागि ठेक्का कबोल गरी गत वैशाख ३० गते २०८३ साल असार २९ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको छ ।