विराटनगर— भोजपुरको अरुण गाउँपालिका–७ स्थित ‘कैलाश पर्वत’ र ‘हरित हिल’ (पहाड)को संरक्षण र विकास कार्य थालिएको छ। प्राकृतिक सौन्दर्यले भरिएको यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने लक्ष्यसहित संरक्षण तथा पूर्वाधार निर्माण सुरु गरिएको हो।
वडाध्यक्ष कुमार थापाका अनुसार कैलाश डाँडाको संरक्षणका लागि पदमार्गसहित आवश्यक संरचना निर्माणको काम अघि बढाइएको छ। कैलाश डाँडाबाट नजिकैको हरित हिलसम्म पुग्नका लागि पनि छुट्टै पदमार्ग निर्माण भइरहेको उनले बताए।
प्रदेश सरकारबाट प्राप्त पाँच लाख रुपैयाँ बजेटबाट कैलाश पर्वतसम्मको पदमार्ग निर्माण गरिएको जानकारी दिँदै वडाध्यक्ष थापाले गौरीशङ्कर मन्दिर र सिंहदेवी मन्दिरलाई समेत समेटेर एकीकृत पर्यटकीय क्षेत्र विकास गर्ने योजना रहेको उल्लेख गरे। उनका अनुसार पर्यटकलाई लक्षित गर्दै वडा कार्यालय नजिकै १० लाख रुपैयाँ लागतमा बाल उद्यानसमेत निर्माण गरिएको छ।
स्थानीयवासी टेकबहादुर बस्नेतले वडाले अघि बढाएको कार्यले समुदायमा उत्साह थपिएको बताए। ‘यहाँका कैलाश पर्वत, हरित हिल, गौरीशङ्कर र सिंहदेवी मन्दिरको सांस्कृतिक र धार्मिक महत्व छ,’ उनले भने, ‘स्थानीय तहको पहल नहुँदासम्म यी ऐतिहासिक स्थानहरू ओझेलमा परेका थिए।’
उनका अनुसार कैलाश पर्वत र गौरीशङ्कर मन्दिरमा प्रत्येक वर्ष एकपटक भव्य मेला लाग्ने गर्छ, जहाँ स्थानीय मात्र होइन, छिमेकी जिल्लाबाट पनि श्रद्धालुहरू आउने गर्छन्। विकासको क्रमसँगै आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्ने अपेक्षा गरिएको छ। (स्रोत : रासस)
#‘कैलाश# पर्वत# र #हरित# हिल