विराटनगर —हाल देशभर पश्चिमी र स्थानीय वायुसँगै बङ्गालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावस्वरूप कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था देखिएको महाशाखाले जानकारी दिएको छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित पहाडी भूभागका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि रहेको छ।
आज राति कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा समेत चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको छ।
चट्याङ्गसहित वर्षाको सम्भावनाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
#मौसम# पूर्वानुमान