विराटनगर– जुम्लाको तिला गाउँपालिका–९ मा शुक्रबार साँझ परेको असिनासहितको वर्षाले स्थानीय स्याउ बगैँचासहित विभिन्न बालीनालीमा ठूलो क्षति पुर्याएको छ।
वडाध्यक्ष धनबहादुर रावतका अनुसार विशेषगरी राँस, मालपानी खोप्री, ढिपु गाउँका गहुँ, जौ, आलु, सिमी, मकै, फापर, स्याउ र ओखरबालीमा व्यापक असर परेको छ। ‘झन्डै आधा फिटसम्म असिना परेको थियो,’ वडाध्यक्ष रावतले भने, ‘पाक्दै गरेका बाली खेतबारीमै झरेका छन्। सिमी, आलु, मकै, फापर लगायतका बाली पूर्ण रूपमा नष्ट भएका छन्।’
असिनाबाट राँसा गाउँका १ सय १० र मालपानी गाउँका ६८ घरधुरी घरधुरी प्रभावित भएका छन्। वडाध्यक्ष रावतले पीडितहरूलाई राहत उपलब्ध गराउन स्थानीय सरकारदेखि प्रशासनसम्म पहल भइरहेको जानकारी दिए। (स्रोतः रासस)
#जुम्ला# असिना#स्याउ