विराटनगर– जुम्लाको गुठीचौर–२ झुलेनी पाटनमा चट्याङ लाग्दा २२ वटा भेडा मरेका छन्। शनिबार साँझ परेको चट्याङले स्थानीय हिरबहादुर ऐडीका १६ र धनकृष्ण रोकायाका ६ भेडाको ज्यान लिएको हो।

वर्षाको बेला पाटनमा चराएर ल्याइँदै गरेका भेडा रुखमुनी ओत लागेर बसेकै बेला चट्याङ परेको वडासदस्य धनबहादुर बोहराले बताए। उनका अनुसार किसानको खुसी चट्याङले खोसेर लगेको छ।

हरेक वर्ष भेडा बेचेर जीविकोपार्जन गर्दै आएका हिरबहादुर चिन्तित छन्। उनले भने, ‘अब पाटनहरू पनि सुरक्षित छैनन्, कसरी भेडा पाल्ने?’

पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले चट्याङबाट भेडा मरेको पुष्टि गर्दै किसानलाई राहत उपलब्ध गराउनुपर्ने बताए।गुठिगाउँका १७५ घरमध्ये १०० भन्दा बढी परिवार भेडाबाख्रा पाल्दै आएका छन्। तर पाटन र खर्कको व्यवस्थापन नहुँदा बर्सेनि सयौँ भेडाबाख्रा मर्ने समस्या छ। वडाध्यक्ष दीपबहादुर ऐडीले पालिकाको विपद् शाखासँग समन्वय गरी किसानलाई राहत दिने आश्वासन दिएका छन्।

#चट्याङ #लाग्दा #भेडा #मरे