विराटनगर– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी स्थानीय तथा संघीय निर्वाचन (२०८४ ) मा देशभरिका सबै पालिका र निर्वाचन क्षेत्रहरूबाट उम्मेदवार उठाउने बताएका छन् ।

मंगलबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत साम्पाङले लेखेका छन्, ‘८४ मा हामी सबै पालिका र निर्वाचन क्षेत्रहरूबाट उम्मेदवारी दिने छौँ ! दाग नलागेका, इमानदार र काम गर्न चाहनेहरू हाम्रा उम्मेदवार बन्ने छन् ।’

उनले दलगत हैसियतमा उम्मेदवारी दिने कि स्वतन्त्र हैसियतमा भन्नेबारे भने कुनै स्पष्ट टिप्पणी गरेका छैनन्। हर्क साम्पाङ २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा धरान उपमहानगरपालिकाको मेयरमा विजयी भएका थिए। निर्वाचितपश्चात उनी पानीका मुद्दादेखि लिएर प्रशासनिक शैलीसम्मका कारण चर्चित र विवादित बनेका छन्।

उनको पछिल्लो घोषणा नेपाली राजनीतिमा वैकल्पिक शक्ति निर्माणको संकेतका रूपमा पनि हेरिएको छ। अब उनको यो अभियानले राष्ट्रिय स्तरमा कस्तो प्रभाव पार्ने हो, हेर्न बाँकी छ।

#हर्क# साम्पाङ