विराटनगर— नेपालमा पछिल्लो एक साताभित्र कम्तीमा सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तीमध्ये अधिकांश संक्रमित काभ्रेपलाञ्चोकमा फेला परेका हुन्। धुलिखेलमा परीक्षणका क्रममा संक्रमण देखिएपछि सबैलाई उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ल्याइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल देखिएको संक्रमण चीन र भारतमा फैलिरहेको कोरोना भाइरसकै भेरियन्ट हो वा नयाँ भेरियन्ट हो भन्नेबारे सरकार स्पष्ट हुन सकेको छैन। तर मन्त्रालयले सीमा नाका तथा अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क स्थापना गरी निगरानी र परीक्षण कार्य तीव्र बनाएको जनाएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले अहिले देखिएको संक्रमण नयाँ भेरियन्ट हो भन्ने पुष्टि नभएको जानकारी दिए। ‘काभ्रेमा एकै ठाउँमा सात जनामा संक्रमण देखिएकाले सतर्कता अपनाएका छौँ,’ उनले भने, ‘हालसम्मको परीक्षणमा नयाँ भेरियन्ट हो भन्ने संकेत देखिएको छैन, थप परीक्षणपछि मात्र निश्चित भन्न सकिन्छ।’
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार सीमामा परीक्षणका लागि किटसहितको व्यवस्था गर्दै चेकजाँच सुरु गरिएको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पनि सम्बन्धित निकायलाई निगरानी र परीक्षण बढाउन निर्देशन दिएका छन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी सन्तोष सुवेदीले पछिल्लो २४ घण्टामा एक जना नयाँ संक्रमित पुष्टि भएको बताए। तर त्यो नियमित परीक्षण प्रक्रियाअन्तर्गत रहेको र तत्काल डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ। ‘छिमेकी भारतमा संक्रमण देखिएकाले नेपालमा पनि सतर्कता आवश्यक छ, तर हालसम्म नयाँ भेरियन्ट पुष्टि भइसकेको छैन,’ सुवेदीले भने।
यसैबीच शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले भारतमा देखिएको नयाँ भेरियन्ट संक्रामक भए पनि अहिलेसम्म घातक नदेखिएको बताए। ‘म्युटेसन (भाइरसको आनुवंशिक संरचनामा परिवर्तन) हुँदै फरक प्रकारको भेरियन्ट देखा परेको हो, तर यसको असर हालसम्म घातक देखिएको छैन,’ डा. पुनले भने, ‘नेपालमा देखिहाले पनि डराउनुपर्ने अवस्था छैन, तर सतर्कता भने आवश्यक छ।’स्वास्थ्य मन्त्रालयले देशभर निगरानी र परीक्षणलाई बढाउँदै लैजाने तयारी गरिरहेको छ।
#कोरोना #भाइरस