विराटनगर– त्रिभुवन राजपथअन्तर्गत नागढुंगा–नौबिसे खण्डमा सडक विस्तारका कारण यही वैशाख २२ देखि ३१ गतेसम्म हरेक रात सवारीसाधनको आवागमन रोक्ने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार निर्माण कार्य तीव्र गतिमा अघि बढाउन र सम्भावित जोखिम न्यून गर्न राति ११ बजेदेखि बिहान ३ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेद्वारा जारी सूचनामा काठमाडौँबाट बाहिरिने हलुका तथा भारी सवारीलाई नागढुंगा चेकपोष्टमा रोक्ने र बाहिरबाट काठमाडौँ प्रवेश गर्ने सवारीलाई नौबिसेको खत्रीपौवा पुलमा रोक्ने व्यवस्था गरिने उल्लेख गरिएको छ। यस अवधिमा सवारी चालक र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। साना तथा मझौला सवारीका लागि सीतापाइला–भीमढुंगा–रामकोट–धार्के सडक प्रयोग गर्न सकिनेछ।
त्यस्तै सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली–गल्छी मार्ग पनि विकल्पका रूपमा उपलब्ध हुने जनाइएको छ। एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने रोकिने छैनन्। सडक योजना कार्यालयले ओभरटेक नगरी नियमको पालना गर्नसमेत सवारी चालकलाई अनुरोध गरेको छ।