विराटनगर– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाली नागरिकलाई भिजिट भिसामा विदेश पठाउने क्रममा रकम असुली गरेको आरोपमा अनुसन्धानमा परेका सहसचिव तीर्थराज भट्टराई र उनकी पत्नी देवीमाया बराल (भट्टराई) को नाममा जारी पाँच वर्षे ‘मल्टिपल इन्ट्री’ अमेरिकी भिसा रद्द गरिएको छ।

विमानस्थल अध्यागमन प्रमुखका रूपमा कार्यरत भट्टराईलाई  गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएपछि अमेरिकाले नेपालस्थित आफ्नो दूतावासमार्फत भिसा रद्द गरिएको जानकारी परराष्ट्र मन्त्रालयलाई औपचारिक रूपमा पठाएको स्रोतले जनाएको छ।

‘अध्यागमन कानुन कार्यान्वयन गर्ने जिम्मेवारी पाएको उच्च अधिकारी नै आर्थिक लेनदेनमा संलग्न भइ भिजिट भिसाको दुरुपयोगमा मुछिएको विषयलाई अमेरिकाले गम्भीर रूपमा लिएको छ,’ स्रोतले भन्यो, ‘यो केवल नेपालको आन्तरिक विषय होइन, अन्तर्राष्ट्रिय विमानस्थल हुँदै गरिने अपराधलाई विश्व समुदायले कस्तो रूपमा लिन्छ भन्ने उदाहरण पनि बनेको छ।’

यसअघि पनि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने आपराधिक गिरोहमा तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, गृहमन्त्री बालकृष्ण खाण, गृह सचिव टेकनारायण पाण्डे र गृहमन्त्री रामबहादुर थापाका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत संलग्न रहेको खुल्न आएको थियो। यस प्रकरणपछि अमेरिका नेपाली अधिकारीहरूको भूमिकाप्रति चासो राख्दै आएको थियो।

#भिसा #रद्द