विराटनगर – देशभर मंगलबार मौसम आंशिकदेखि साधारणतया बदली रहने भएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाले दिएको जानकारीअनुसार हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ। कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागहरूमा मंगलबार राति पनि आंशिकदेखि साधारण बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने सम्भावना छ। 

कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा राति मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ। यस्तै देशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना कायम रहेको जनाइएको छ।