विराटनगर- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहमा निर्माण भइरहेका आधारभूत अस्पतालहरूमा दक्ष चिकित्सकसहितको जनशक्ति राज्यले उपलब्ध गराउनुपर्ने बताएका छन् ।
मोरङको वुढीगंगा गाउँपालिका–६ मा निर्माण सम्पन्न भएको वुढीगंगा पालिका अस्पतालको बुधबार उद्घाटनपछि कोइरालाले स्वास्थ्य सेवा प्रभावकारी बनाउन दक्ष जनशक्तिको उपस्थिति अनिवार्य रहेको बताएका हुन् । उनले कतिपय स्थानमा ठूला भवनसहितका अस्पताल स्थापना भए पनि दक्ष जनशक्ति नहुँदा सर्वसाधारणले सामान्य उपचारका लागि समेत सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको उल्लेख गरेका छन् ।
सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमले नागरिकको उपचारमा सहजता ल्याएको भन्दै उनले गरीव तथा असहाय वर्गलाई बीमाको दायरामा ल्याउन बीमा शुल्क स्थानीय तहले व्यहोर्नुपर्नेमा काेइरालाले जाेड दिएका हुन् । बीमा कार्यक्रममा सुरुमा लाग्ने खर्चको अनुमान सटीक नहुनुले आर्थिक चुनौती देखिएकोले त्यसमा सुधारको आवश्यकता उनले औँल्याएका छन् ।
कोइरालाले वुढीगंगा गाउँपालिकाको समग्र विकासमा आफू प्रतिबद्ध रहेको भन्दै किसानहरूका लागि कोल्ड स्टोरेज तथा स्थानीय उद्यमशील महिलाहरूका लागि महिला उद्यम ग्राम निर्माणको तयारीमा रहेको जानकारी दिएका हुन्।
कार्यक्रममा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की र प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र राईले प्रदेशभरि रहेका स्वास्थ्य केन्द्र तथा अस्पतालमा सेवा विस्तार गरिएकाले नागरिकले सहज स्वास्थ्य सेवा पाइरहेको बताए । नेपाल सरकारले निर्माण गरेको दश शैय्याको उक्त वुढीगंगा पालिका अस्पताल २०७७ मंसीरमा शिलान्यास गरिएको थियो।
सवा एक बिघा क्षेत्रफलमा फैलिएको अस्पतालको लागत करीब ८ करोड रुपैयाँ रहेको छ । अस्पतालमा मेजर तथा माइनर अपरेशन, ल्याब, एक्स-रे, ईसीजी, इन्डोर सेवा तथा २४ घन्टा इमर्जेन्सी सेवा उपलब्ध रहेकाे वुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले जानकारी दिए ।